काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरुको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गर्नुभएको हो । सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिच्किचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले किसानले समयमा आफनो वस्तुहरुको उचित मूल्य नपाउँदा युवाहरु उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद अधिकारीले मुलुकमा खाद्य आत्मनिर्भरता चाहिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।




