काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बहकाव’ लेखेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहभागि हुँदै उहाँले यस्तो बताउनुभएको हो । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको उल्लेख गर्दै कर्णले आजको परिवेशमा यो लक्ष्य कुनैपनि हालतमा प्राप्त हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले आर्थिक लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादन (जिडिपी) को कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिमा त्यो सम्भव नदेखिएको पनि बताउनुभयो ।
उहाँले हरेक तीन महिनामा क्षेत्रगत उत्पादन खर्चको विवरण संसदमा पेश गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो । यसले पारदर्शिता र जवाफदेहिता बढाउने उहाँको भनाइ छ । सहकारी संकट समाधानका लागि सरकारले स्थापना गरेको कोष पीडितमैत्री देखिए पनि दीर्घकालमा जोखिमपूर्ण हुनसक्ने उहाँको चेतावनी छ ।




