मूल्य समायोजनको माग गर्दै धनुषाका निर्माण व्यवसायी आन्दोलित, निर्माण कार्य ठप्प पार्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

मूल्य समायोजनको माग गर्दै धनुषाका निर्माण व्यवसायी आन्दोलित, निर्माण कार्य ठप्प पार्ने चेतावनी

काठमाडौँ 

निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको अनुपातमा सरकारले मूल्य समायोजन नगरेको भन्दै धनुषाका निर्माण व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । धनुषा निर्माण व्यवसायी संघले इन्धन र निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि हुँदा साविककै दररेटमा काम गर्न नसकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष अशोककुमार चौधरीकाअनुसार पछिल्लो समय डिजेल, मट्टितेल, बिटुमेन र डन्डी लगायतका अत्यावश्यक सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढेको छ । इन्धनमा ३९ प्रतिशत र बिटुमेनमा ४९ प्रतिशतसम्म मूल्यवृद्धि भएको तथ्यांक प्रश्तुत गर्दै उहाँले सरकारले कानूनमा व्यवस्था भएबमोजिमको मूल्य समायोजन नगरेकोमा आपत्ति जनाउनु भयो । व्यवसायीहरूले हाल बजारमा बिटुमेनको कृत्रिम अभाव सिर्जना गरिएको र क्रसर उद्योगहरू सहज रूपमा सञ्चालन हुन नसक्दा बालुवा–गिट्टीको समेत अभाव रहेको गुनासो गरेका छन् ।

जिल्ला दररेट १०५ रुपैयाँ रहेको बिटुमेनलाई हाल १६० रुपैयाँ तिर्दा पनि सहजै नपाइने अवस्था रहेको व्यवसायीहरूको दाबी छ । आफ्ना मागहरू पूरा नभए धनुषाका सम्पूर्ण निर्माण व्यवसायीहरूले स्वतः स्फूर्त रूपमा काम बन्द गर्ने चेतावनी दिएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत शुक्रवार र सोमवार जिल्लाका विभिन्न विकास कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गरिएको छ । संघले सरकारी अधिकारीहरूलाई निर्माण व्यवसायीमाथि कामको दबाब नदिन आग्रह गर्दै वर्तमान परिस्थितिमा काम अघि बढाउन नसकिने जानकारी गराएको छ । अध्यक्ष चौधरीकाअनुसार मूल्यवृद्धिका कारण देशभरका निर्माण व्यवसायीहरूले हालसम्म करिव १० अर्ब रुपैयाँ नोक्सानी बेहोरिसकेका छन् । समयमै मूल्य समायोजन नभए व्यवसायीहरूको बैंक ग्यारेन्टी जफत हुने र धेरै व्यवसायीहरू टाट पल्टिने जोखिम बढेको भन्दै संघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सार्वजनिक विकासका कामहरू ठप्प हुनुमा व्यवसायी नभई सरकारको उदासीनता जिम्मेवार रहेको उनीहरूको ठहर छ ।

Leave a Reply