काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले मुलुकको आर्थिक विकासका लागि स्पष्ट कानूनी व्यवस्था गर्न माग गर्नुभएको छ । ७५ औँ वर्षगाँठ (हिरक जयन्ती) का अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकासका लागि स्पष्ट कानूनी व्यवस्था, पर्याप्त पूर्वाधार, सहज वित्तीय पहुँच तथा दक्ष जनशक्तिको विकास अनिवार्य रहेको बताउनु भयो ।
उहाँका अनुसार आत्मनिर्भर, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै कृषि क्षेत्रमा आधुनिकीकरण, उद्योगमा विविधीकरण, पर्यटन विस्तार र सूचना प्रविधिमा लगानी वृद्धि गर्नुपर्छ । नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले प्रविधिमा आधारित व्यवसाय प्रवद्र्धधनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
अध्यक्ष मल्होत्राले भन्नुभयो–‘आजको विश्व प्रतिष्पर्धात्मक छ । हामी परम्परागत सोच र कार्यशैलीमा सीमित रहनु हुँदैन । समयानुकुल नवप्रर्वतन, डिजिटल रुपान्तरण र दिगो विकासतर्फ उन्मुख हुन आवश्यक छ । नयाँ पुस्तालाई उद्यमशीलता आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास गरिनुपर्छ । प्रविधिमा आधारित व्यवसायलाई अघि बढाउन सबैले सहकार्य गर्न जरुरी छ ।’
परम्परागत सोच र कार्यशैलीमा सिमित रहँदा आर्थिक प्रगति सम्भव नहुने उल्लेख गर्दै समयअनुकूल नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुनुपर्ने उहाँको भनाइ रहेको छ ।





