भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

चितवन । ३० वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले चितवनले प्रचारप्रसारसँगै सुझाव संकलन गर्न थालेको छ । नागरिकको अपेक्षालाई आफ्नो एजेण्डामा समेट्नका लागि सुझाव संकलन गरिएको छ । एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उमेद्‌वारी दिने तयारी गरेका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् ।

भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको मेयरका उमेदवार सुवेदीले बताए । महानगरबासी सबै नागरिकको अभिभावकत्व लिनेगरी नमुना महानगर बनाउन व्यवस्थित गुरुयोजना बनाएर काम गरिने उनले बताए ।नागरिकलाई क्षमताअनुसारको रोजगारी दिन सुरुको वर्ष नागरिकको अभिलेखिकरण गर्ने, अनुसन्धानका लागि आविस्कार केन्द्रको स्थापना गर्ने र विकास निर्माणमा निश्पक्ष सक्रियताको अभ्यास गर्ने उनको प्रतिबद्धता छ ।

‘व्यवस्था परिवर्तन भयो भनियो तर अझै पनि अव्यवस्थाको निरन्तरता छ । हामी भरतपुरबाट व्यवस्थाको सुरुवात गर्छाैँ’, उनले भने । प्राध्यापक कपिल सुवेदीले संघ र प्रदेशको बजेटको भरमा भरतपुरमा विकास भइरहेको बताए । यहाँको विकासका लागि वैदेशिक लगानी भित्राउन पनि सकिने भन्दै उनले त्यसका लागि पहिला वैदेशिक लगानी नीति बनाउन आवश्यक रहेको बताए । ‘वैदेशिक लगानी भित्राउन सक्नुपर्छ । महानगरमा त्यस्तो लगानीको लागि ऐन नै बनेको छैन’, उनले भने ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । यहाँबाट १५० किमीको दुरीमा देशका ठूला शहरहरु रहेको भन्दै उनले भने, ‘यहाँबाट निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्छ । आयात प्रतिस्थापन गर्नुपर्छ । त्यसको लागि आर्थिक कुटनीति बनाउन जरुरी छ ।’

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्ने कुरामा जनतालाई प्रत्याभुति दिलाउन उनले आग्रह गरे । त्यस्तै, महानगरको अहिलेको संरचनाले आगामी १० वर्षमा कति जनसंख्यालाई धान्न सक्छ त्यसको विश्लेषण गर्नुपर्ने उनले सुझाए ।

अधिवक्ता राजकुमार श्रेष्ठले महानगरले ऐन कानुन बनाउँदा विज्ञसँग सल्लाह नगरेको बताए । शहरी क्षेत्रका केहि वडा हेरेर सबै ठाउँमा एकै किसिमको कर लगाउने नीति गलत भएको उनले बताए । सुकुमबासीलाई एक/दुई कठ्ठा जग्गा बाँडेर मात्र नहुने भन्दै उनले स्थायीत्वका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

पर्यटन विज्ञ विश्व सुवेदीले पर्यटन क्षेत्रको विकासमा पर्याप्त लगानी हुन नसकेको बताए । भरतपुर महानगरमा ३० वटा पर्यटकिय गन्तव्य स्थल पहिचान भएका छन् । ‘पर्यटनको छुट्टै प्लानिङ गरौँ । पर्यटनलाई धेरै पक्षसँग जोडेर विकास र आर्थिक उन्नती गर्न सकिन्छ’, उनले भने । पर्यटन क्षेत्रको प्रवर्द्धनमा चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वन, २०३४ सालमा बनेको होटल सञ्चालन सम्बन्धि ऐन बाधक रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);