काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा उहाँले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको हो । सांसद लामिछानेले मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप शुरु हुने भन्दै शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनु भयो ।
आफ्नो अध्ययनका क्रममा दक्षिण कोरियाको अनुभव सुनाउँदै लामिछानेले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने उहाँको भनाइ छ । खेलकुदलाई केवल मनोरञ्जनको रूपमा मात्र नहेरी यसलाई वैज्ञानिक पद्धतिबाट अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिमा होमिएपछि खेलकुद क्षेत्रसँग केही समय ग्याप भएपनि आफ्नो मन सधैँ खेलकुदमै रहेको बताउँदै उहाँले खेलाडीहरूको प्रदर्शन गर्ने कुरामा राज्यले कुनै कसर बाँकी राख्न नहुने बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग मिलेर आगामी दिनमा खेलकुदको स्तर उकास्न आफू निरन्तर लागिपर्ने उहाँले विश्वास दिलाउनु भयो । लामो समय खेलकुद विज्ञ र सहकर्मीको रूपमा काम गर्नुभएका लामिछानेले खेलकुद ओझेलमा पर्ने डर सधैँ रहने गरेको भन्दै यस क्षेत्रको उत्थानका लागि सबै खेलकर्मीहरू एकजुट हुनुपर्ने आह्वान समेत गर्नुभयो ।




