काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आजदेखि १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् ।
दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचार–प्रसार गर्न सक्नेछन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई निर्देशन दिनुभएको छ । १८ गते राति १२ बजेपछि भने ‘मौन अवधि’ शुरु हुने र कुनैपनि प्रकारको प्रचार वा ‘मस्तिष्क मन्थन’ समेत गर्न नपाइने भण्डारीले बताउनु भयो । आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उमेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगले स्पष्ट गरेको छ ।
आयोगले यस पटक अनुगमनकर्तालाई सम्बन्धित स्थानमै कारबाही गर्नसक्ने अधिकार समेत प्रत्यायोजन गरेको छ । आर्थिक पारदर्शिता कायम गर्न हरेक उमेदवार र दलले छुट्टै बैंक खाता खोल्नुपर्ने, २५ हजार भन्दा माथिको कुनैपनि सहयोग वा खर्च बैंकमार्फत नै गर्नुपर्ने र यसको आय–व्यय विवरण आधिकारिक मानिने आयोगले जनाएको छ ।
बैंक खाता नखोलिएका उमेदवारहरुका लागि सहजीकरण गर्न आयोगले वाणिज्य बैंकका प्रतिनिधिहरुसँग छलफल गरिरहेको समेत जानकारी दिइएको छ । यसपटकको निर्वाचनमा ठूलो संख्यामा नयाँ मतदाता थपिएको र त्यसमा युवा जमातको बाहुल्यता रहेको आयोगले जनाएको छ ।





