पूँजी पलायनको जोखिम : बैंक तथा वित्तीय संस्था मुद्दती निक्षेप लिन अनिच्छुक | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

पूँजी पलायनको जोखिम : बैंक तथा वित्तीय संस्था मुद्दती निक्षेप लिन अनिच्छुक

काठमाडाैं । अधिक निक्षेप प्रशस्त हुँदा बैंक तथा वित्तीय संस्थाले सकभर मुद्दती निक्षेप नलिने रणनीति अपनाउन थालेका छन् । वित्तीय क्षेत्रमा निक्षेप ७५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, । यो कुल गार्हस्थ उत्पादनभन्दा १५ खर्ब बढी हो । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनका लागि ब्याजदर करिडोर र वित्तीय औजार प्रयोग गरिरहेको छ । यस्तो अवस्थाले मुद्दती निक्षेपकर्ता निरुत्साहित हुन गर्न थालेका छन् ।

कर्जा माग ठप्प भएर निक्षेपमा आएको सुधार व्यवस्थापन गर्न सकस भएपछि बैंक तथा वित्तीय संस्थाले सकभर मुद्दती निक्षेप नलिने रणनीति अपनाउन थालेका छन् । कोरोना महामारी, आर्थिक मन्दी तथा जेनजी आन्दोलनले निजी क्षेत्र लगानी विस्तार गर्न चाहिरहेको छैन ।

बैंकिङ क्षेत्रको कर्जा लगानी ठप्प जस्तै छ । तर, रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आएसँगै निर्यात पनि बढ्दा निक्षेप बढीरहेको छ । निक्षेप थपिँदा ब्याजदर घटेर न्यून भएको छ । कुल निक्षेप अहिलेसम्मकै उच्च ७५ खर्ब १४ अर्ब रुपैयाँसम्म पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । यस अवधिमा कुल कर्जा लगानी ५६ खर्ब ३५ अर्ब मात्रै छ । यो निक्षेप कुल गार्हस्थ उत्पादन जीडीपी भन्दा १५ खर्ब बढी हो । अहिले मुलुकको जीडीपी ६१ खर्ब ७ अर्ब बराबर छ ।

केन्द्रीय बैंकले अधिक निक्षेपका कारण ब्याजदर थप नघटोस् भनेर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत कायम गरेको छ । बैंकहरूले बचतकर्तालाई दिएको ब्याजदर केन्द्रीय बैंकको निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधामार्फत् लिँदै आएका छन् । पछिल्लो समय वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई पनि धौ धौ हुन थालेको जानकारहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्नु सकारात्मक भए पनि परिचालन नगरी थुप्रियो भने विकृति आउन सक्ने बिश्लेषण गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु निक्षेप लिएर के गर्ने भन्ने अवस्थामा छन् । कर्जा प्रवाह हुन नसकेपछि निक्षेप लिएर खर्चमात्र बढ्छ । सस्तो ब्याजदरमा कर्जा दिँदा बैंकिङ क्षेत्रको स्रोतको दुरुपयोग हुने जोखिम पनि उत्तिकै हुन्छ ।

निक्षेप बढी राख्ने र कर्जाको मागमा सुधार नआउने हो भने पूँजी पलायनको उच्च जोखिम पनि हुन सक्छ । निक्षेप थपिने तर कर्जा माग नआउने भएपछि बैंक तथा वित्ती संस्थाको औसत कर्जा निक्षेप अनुपात पनि ७४.५३ प्रतिशतमा झरेको छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिसम्म कायम गर्न पाउँछन् । कर्जाको माग नभएपछि बैंक तथा वित्तीय संस्थामा आएको सर्वसाधारणको निक्षेप स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकमा थुप्रिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाको सात खर्ब ८० अर्ब केन्द्रीय बैंकमा छ । यो अवधिमा निक्षेपको औसत ब्याजदर ३.९६ प्रतशित छ । भने कर्जाको औसत ब्याजदर ७.६६ प्रतिशत छ । त्यसैगरी हाल बैंक तथा वित्तीय संस्थासँग करिब ११ खर्ब रुपैयाँ कर्जा लगानीयोग्य रकम समेत थन्किएर बसेको छ ।

Leave a Reply