काठमाडौ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जनाएको छ ।
नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो ।अहिलेको अवस्थामा र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता हुने भएकाले प्रदर्शनको अनुमति नदिइने प्रशासनको भनाइ छ ।
प्रशासनले पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका कार्यक्रम नगर्नरनगराउन पनि भनेको छ ।
एमालेको राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्याली निकालिने जनाएको थियो । युवा संघले दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने जनाएको थियो ।




