काठमाडाैं । आश्विन शुक्ल पक्षको सप्तमी तिथि आज महासप्तमी अर्थात फूलपाती हर्षोउल्लासका साथ मनाइदै छ ।
महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइने परम्परा छ । यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ। यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ।
गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ। फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ। यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहन्छ ।
यसैगरी बडादशैँको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ । कालरात्रिको स्वरूप भयंकरको छ । कालो वर्णकी र केश फिँजाएकी, गलामा विद्युत् जस्तै चम्किने माला लगाउने तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने मान्यता छ । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ । चार भुजा भएकी कालरात्री अर्थात काली भगवतीले तरवार र खड्ग धारण गरेको स्वरूप डरलाग्दो भए पनि आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने जनविश्वास छ ।
महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । विद्याका सामग्री, पुस्तक, अभ्यासपुस्तिका र कलमको पनि पूजा गरिन्छ । यसै दिन भद्रकालीको आराधना पनि गरिन्छ। शक्तिपीठहरूमा पूजा पनि गरिन्छ ।





