काठमाडौ ।
गएराति भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेस्थित नगरपालिकाको कार्यालय नजिकै झगडा हुदा घटनास्थलमा पुगेका प्रहरीलाई झगडा गर्ने एउटा समूहले आक्रमण गरेका छन् ।झगडा भएको थाहा पाएपछि भक्तपुरका स्थानीयहरूले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए ।
झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक प्रनानि राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगेका थिए ।घटनास्थलमा पुगेका सोही प्रहरीलाई झगडा गर्ने एउटा समूहले आक्रमण गरेका हुन ।
झगडा गर्ने समूहले प्रहरीमाथि हातपात हुँदा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन् । आक्रमणका बिच प्रहरीले एकजना झगडियालाई घटनास्थलमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ नगरपालिका घर भएर सूर्यबिनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसरले भक्तपुरले थप फौज परिचालन गरेर अरू दुई जनालाई पनि पक्राउ गरेको छ ।
प्रहरी कर्मचारीहरू सूर्यबिनायक नगर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
जेनजी प्रदर्शनपछि अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमण हुन थालेको प्रहरीका अधिकृतहरू बताएका छन् । समाजमा सुरक्षा दिनुपर्ने प्रहरी आफैँ ‘असुरक्षित’ हुन थालेको स्थानीयहरूले टिप्पणी गरेका छन् ।




