घट्दाे शिशु जन्मदर : दीर्घकालीनरूपमा गम्भीर असर | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

घट्दाे शिशु जन्मदर : दीर्घकालीनरूपमा गम्भीर असर

एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा शिशु जन्मदर ५२ प्रतिशतले घटेको देखाएको छ । शिशु जन्मदर घट्नुको मुख्य कारण युवाशक्ति विदेश पलायन भएर उतै स्थायी बसोबास गर्नु, स्वदेशमा रहेकाहरुले सन्तान जन्माउन चाहना नदेखाउनु तथा आर्थिक अवस्था कमजोर हुनुलगायतका छन् । शिशु जन्मदर अहिलेकै अवस्था यथावत् रहने हो भने आगामी दश वर्षमा नेपालको जनसंख्या घटेर करिब एक करोड पचास लाखमा सीमित हुने देखिन्छ ।

नेपाल अहिले गम्भीर जनसांख्यिक संकटतर्फ अघि बढिरहेको प्रष्ट देखिन्छ । एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा शिशु जन्मदरमा ५२ प्रतिशतले कमी आएको छ । केही वर्षदेखि लगातार शिशु जन्मदर घट्न्ु अत्यन्तै चिन्ताजनक विषय हो । करिब तीन करोड जनसंख्या रहेको मुलुकमा यसरी तीव्र शिशु जन्मदर घट्नुले अबको दश वर्षभित्र जनसंख्या घटेर करिब एक करोड पचास लाखमा सीमित हुने खतरालाई निम्त्याएको छ । युवाशक्ति पलायन हुनु, विदेशिएका नेपालीहरू उतै घरजम गरेर बस्नु तथा स्वदेशमै रहेका दम्पतीहरूमा सन्तान जन्माउने चाहना नहुनुलगायतका शिशु जन्मदर घट्न्ुको प्रमुख कारण हुन् । विदेश जाने युवाहरू स्वदेश फर्किन नचाहने, आर्थिक अस्थिरता, बेरोजगारी र समाजमा बढ्दो प्रतिस्पर्धाका कारण पनि परिवार विस्तारप्रति युवाहरु उदासीन देखिएका छन् ।

शिशु जन्मदर घट्नुको दीर्घकालीन असर अत्यन्त गम्भीर हुन्छ । सक्रिय युवाशक्तिको संख्या घट्ने, वृद्ध जनसंख्याको अनुपात बढ्ने र राज्यको सामाजिक सुरक्षा प्रणालीमा अत्यधिक बोझ पर्ने सम्भावना बलियो छ । अर्थतन्त्रको मेरुदण्ड मानिने युवाशक्ति नै कम हुन थालेपछि मुलुकको उत्पादनशीलता, नवप्रवर्तन क्षमता र समग्र आर्थिक गतिशीलता कमजोर हुन जान्छ । अझ ठूलो चिन्ताको विषय के हो भने, जनसांख्यिक संरचना असन्तुलित भइरहँदा नेपालको खुकुलो नागरिकता सम्बन्धी कानूनको फाइदा उठाएर विदेशी नागरिकहरूले अंगीकृत नागरिकता लिने क्रम बढिरहेको छ । यदि वंशानुगत नेपालीहरूको संख्यामा निरन्तर गिरावट आइरह्यो भने, नेपालभित्र विदेशी प्रभाव र हस्तक्षेप बढ्ने खतरा प्रवलरुपमा रहन्छ । यसले दीर्घकालीन रूपमा राष्ट्रिय अस्मिता, पहिचान र सामाजिक एकतालाई कमजोर पार्न सक्छ ।

यो संकट समाधान गर्न अब विलम्ब गर्नु हुँदैन । राज्यले सन्तान जन्माउने वातावरण सहज बनाउनु आवश्यक छ । परिवारमैत्री नीति, मातृत्व तथा पितृत्व बिदा, निःशुल्क स्वास्थ्य सेवा, कर छुटजस्ता प्रोत्साहन कार्यक्रम समावेश गर्न ढिला गर्नु हुँदैन । युवाशक्ति विदेशिनु नपर्ने व्यवस्था गर्न देशमै गुणस्तरीय शिक्षा, रोजगारी, स्वरोजगार र उद्यमशीलताको अवसर विस्तार गर्नु जरूरी छ । विदेशिएका नेपालीहरूलाई स्वदेश फर्किन प्रेरित गर्ने दीर्घकालीन नीति अवलम्बन गरिनुपर्छ । राष्ट्रियताको संरक्षण गर्न अंगीकृत नागरिकता सम्बन्धी कानूनलाई प्रष्ट र कडाइका साथ कार्यान्वयन गर्नु अपरिहार्य छ ।

नेपालको भविष्य सन्तुलित जनसंख्यामा आधारित हुन्छ । जनसंख्या देशको सवैभन्दा ठूलो शक्ति हो । जुनदेशमा जति धेरै जनसंख्या छ त्यो देश त्यत्तिनै शक्तिशाली हुन्छ । यसैकारण नेपालीमा यो उखान चलेको हो,जसको धेरै सन्तान उसको धन, जसको धेरै गाईभैँसी उसैको वन । आज गरिने रणनीतिक निर्णयहरूले भोलिको पुस्ता सुरक्षित राख्न सकिन्छ । यदि समयमै गम्भीर कदम चालिएन भने हामी राष्ट्रिय अस्तित्वको संकटतर्फ लम्किन सक्छौँ । यो केवल जनसंख्याको प्रश्न होइन, यो नेपालको अस्तित्व, पहिचान र भविष्यसँग गाँसिएको प्रश्न पनि हो

Leave a Reply