बच्चाको आमालाई काम दिदैनन् कोरियाली कम्पनी, जन्मदर बढाउन सरकारलाई मुश्किल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बच्चाको आमालाई काम दिदैनन् कोरियाली कम्पनी, जन्मदर बढाउन सरकारलाई मुश्किल

south-korea

काठमाडौं, ४ पुस । दक्षिण कोरियामा जन्मदर निकै कम छ । सन् २०१८ को तेस्रो त्रैमासमा त्यहाँको प्रजनन दर शून्य दशमलव ९५ को कीर्तिमानी न्यून स्तरमा झरेको थियो । जनसंख्यालाई स्थीर राख्न कोरियालाई २ दशमलव १ आसपास प्रजनन दर चाहिएको छ । जन्मदरमा आएको कमीसँगै सन् २०२८ देखि त्यहाँको जनसंख्या घट्ने अपेक्षा गरिएको छ ।

कम्पनी र काम प्रतिको प्रतिबद्धता पूरा गर्न सक्दैनन् र लामो समयसम्म काम गर्न सक्दैनन भन्ने आशङ्कामा कम्पनीहरुले बच्चा भएका महिलालाई काममा राख्दैनन् । सुत्केरी बिदा दिनु पर्ला भनेर पनि गर्भवती महिलालाई काममै राखिदैन । करियर र कामलाई निरन्तरता दिन महिलाहरु ले सकेसम्म विवाह नै नगर्ने र विवाह गरिहाले पनि बच्चा जन्माउने योजना नै थाँती राख्न थालेका छन् । यसको असर जनसाङ्ख्यकीमा देखिन थालेको छ । दक्षिण कोरियाली जन्मदर विश्वमै सबैभन्दा न्यून छ । तर करियरका लागि बच्चा नजन्माउने महिलाको सङ्ख्या बढ्न थालेपछि त्यहाँको जन्मदर थप खस्किएको छ ।

आश्ले पार्कको कथा
आश्ले पार्कको पढाई निकै राम्रो थियो । पढाइ सकाएर उनले सोलस्थित एक औषधि उत्पादक कम्पनीमा मार्कटिङमा काम थालिन् । उनमा अंग्रेजी भाषामा राम्रो दख्खल थियो, र साथीहरुसँगको सम्बन्ध पनि औधी राम्रो थियो । कम्पनीमा काम गर्न थालेको नौ महीनापछि पाक गर्भवति भइन् । तर, जसै उनी गर्भवती भइन् कम्पनीले उन खुबीलाई वेवास्ता गर्‍यो । ‘उनीहरुले बच्चा जन्मिएपछि अब तिम्रो काम छैन भने, त्यसैले मैले बाध्य भएर काम छाड्नु पर्‍यो ।’ पार्कले भनिन् ।

उक्त कम्पनीमा काम गर्ने सबै महिला कि त एकल थिए वा बालबच्चा बिहिन थिए । उनी झसङ्ग भइन, कम्पनीमा काम गर्ने सबै महिलालाई ध्यानपूर्वक हेरिन् । उनीहरुमध्ये अधिकांश ४० वर्षमुनिका थिए । पार्कले शुरुमा जागिर छाड्न मानिनन् । हाकिमले निरन्तर उनीमाथि दबाब दिइरहे । उनलाई विस्तारै कम्पनीका बैठकमा उपस्थित हुन दिइएन र कार्यालयमा पूरै बेवास्ता गर्न थालियो । त्यही कम्पनीमा कार्यरत उनका पतिलाई व्यवस्थापनले हटाउने धम्कीसमेत दियो ।

करीब छ महीनासम्मको वादविवाद पश्चात् पार्कले अन्ततः हार मानिन् र राजीनामा दिइन् । अर्को महीना उनकी छोरी जन्मिइन् । त्यसयता उनी घरमै बच्चा हुर्काएर बसिरहेकी छिन् । बच्चा केही ठूलो भएपनि पार्कले जागिरका लागि कयौं ठाउँमा आवेदन दिइन् । तर बच्चाको आमा भन्ने थाहा पाएपछि कसैले काम नै दिएनन् । पार्क अहिले आफ्नै व्यवसाय थाल्ने प्रयासमा छिन् । पार्क एउटा उदाहरण मात्र हुन् ।

सरकारको असफल प्रयास
यसै महीनाको शुरुमा कोरियाले जन्मदर घट्न नदिने उपायहरु घोषणा गरेको छ । जन्मदरको समस्या निकै जटिल स्थितिमा पुगिसकेको छ । यसमा सुधार ल्याउन सरकारी घोषणा अपर्याप्त छ भएको र नयाँ योजनाले अपेक्षाकृत नतिजा नदिने आलोचकहरु बताउँछन् । धेरैजसो दक्षिण कोरियाली कम्पनीहरु आमाहरुलाई जागिरमा ल्याउन अझैपनि त्यति इच्छुक देखिन्नन् ।

जन्मदर घट्नु अन्य कारण पनि छन् – बालबच्चा हुर्काउन महंगो हुँदैछ, युवा बेरोजगारी उच्च छ, कार्यघण्टा लामो छ र दिवासेवाको सुविधा सीमित छ । अधिकांश दक्षिण कोरियाली पुरुषहरु महिलाले काम गरुन् भन्ने चाहन्छन । तर आफ्नै पत्नीलाई जागिरमा लगाउनु पर्दछ भन्नेमा सोच्ने पुरुषहरु आधाभन्दा कम छन् । यस्तो पृष्ठभूमिमा दक्षिण कोरिया सरकारले जन्मदर बढाउने प्रयासमा सन् २००५ यता १२ अर्ब १० करोड डलर खर्च गरिसकेको छ । सरकारले जनचेतनामूलक कार्यक्रम मार्फत बढीभन्दा बढी युवापिँढीलाई विवाह गर्न र बच्चा जन्माउन अनुरोध गरिरहेको छ, तर सफलता प्राप्त भएको छैन ।

यसै महीनाको शुरुमा सरकारले अर्को त्यस्तै नयाँ योजना अघि सारेको छ । सरकारले प्रति महिना बाल स्याहार बापत २७० अमेरिकी डलर दिने योजना ल्याएको छ । आठ वर्षभन्दा कम उमेरका बालबच्चा हुने बाबुआमाका लागि जागिरमा तोकिएकोभन्दा दैनिक एक घण्टा कार्यअवधि घटाइएको छ ।

बढीभन्दा बढी दिवासेवा केन्द्रहरु र शिशु केन्द्रहरु खोल्ने योजना पनि छ । बच्चा जन्मिएको अवस्थामा पुरुषहरुलाई अहिले दिँदै आएको ३ दिनबाट बढाएर बिदा १० दिनमा पुर्‍याइएको छ । तर अधिकांश यस्ता उपायहरु कानुनी रुपमा बाध्यकारी छैनन् र तोकिएको सुविधा नदिने कम्पनीमाथि कुनै कारबाही हुँदैन । त्यहीकारण, सरकारको घोषणाप्रति आम जनताले खासै महत्व दिएका छैनन् । रासस/एएफपी

यो खबर आजको अभियान दैनिक पत्रिकामा छपिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);