युवा शक्ति विदेश पलायन हुनुको असर शिशु जन्मदरमा देखिएको छ । एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको पछिल्लो तथ्यांक अनुसार नेपालमा शिशु जन्मदर ५२ प्रतिशतले घटेको छ । ठूलो संख्यामा युवाशक्ति विदेश पलायन भइ उतै स्थायी बसोबास गर्नु, स्वदेशमै बसेकाहरूमा सन्तान जन्माउने चाहनामा कमी हुनु तथा कमजोर आर्थिक अवस्थाका कारण शिशु जन्मदर न्युन भइरहेको कारण उल्लेख छ ।
एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा शिशु जन्मदरमा ५२ प्रतिशतले कमी आएको छ । केही वर्षदेखि लगातार शिशु जन्मदर घट्नु अत्यन्तै चिन्ताजनक विषय हो । करिब तीन करोड जनसंख्या रहेको देशमा तीव्ररुपमा शिशु जन्मदर घट्नुले अबको दश वर्षभित्र जनसंख्या घटेर करिब एक करोड पचास लाखमा सीमित हुन सक्ने खतरा देखिन्छ । यो आँकलनले नेपाल गम्भीर जनसांख्यिक संकटतर्फ अघि बढिरहेको देखिन्छ । युवाशक्ति पलायन हुनु, विदेशिएका नेपालीहरू उतै घरजम गरेर बस्नु तथा स्वदेशमै रहेका दम्पत्तिहरूमा सन्तान जन्माउने चाहना नहुनुलगायतका कारण शिशु जन्मदर घट्ने क्रम जारी रहेको देखिन्छ । विदेश जाने युवाहरू स्वदेश फर्किन नचाहने, आर्थिक अस्थिरता, बेरोजगारीलगायतका कारण पनि परिवार विस्तारप्रति युवाहरु उदासीन देखिएका छन् ।
शिशु जन्मदर घट्नुको दीर्घकालीन असर अत्यन्त गम्भीर हुन्छ । सक्रिय युवाशक्तिको संख्या घट्ने, वृद्ध जनसंख्याको अनुपात बढ्ने र राज्यको सामाजिक सुरक्षा प्रणालीमा अत्यधिक बोझ पर्छ । अर्थतन्त्रको मेरुदण्ड मानिने युवाशक्ति नै कम हुन थालेपछि मुलुकको उत्पादनशीलता, नवप्रवर्तन क्षमता र समग्र आर्थिक गतिशीलता कमजोर हुन जान्छ । जनसांख्यिक संरचना असन्तुलित भइरहँदा नेपालको खुकुलो नागरिकता सम्बन्धी कानूनको फाइदा उठाएर विदेशी नागरिकहरूले अंगीकृत नागरिकता लिने क्रम बढ्नु थप चिन्ताको विषय हो । यदि वंशानुगत नेपालीहरूको संख्यामा निरन्तर गिरावट आइरह्यो भने, नेपालभित्र विदेशी प्रभाव र हस्तक्षेप बढ्ने खतरा प्रवलरुपमा रहन्छ । यसले दीर्घकालीन रूपमा राष्ट्रिय अस्मिता, पहिचान र सामाजिक एकतालाई कमजोर पार्न सक्छ ।
यस्ता सम्भावित संकट टार्न सरकारले सन्तान जन्माउने वातावरण सहज बनाउनु आवश्यक छ । परिवारमैत्री नीति, निःशुल्क स्वास्थ्य सेवा, कर छुटजस्ता प्रोत्साहन कार्यक्रम समावेश गर्नुपर्छ । युवाशक्ति विदेशिनु नपर्ने व्यवस्था गर्न देशमै गुणस्तरीय शिक्षा, रोजगारी, स्वरोजगार र उद्यमशीलताको अवसर सिर्जना गर्नु जरूरी छ । विदेशिएका नेपालीहरूलाई स्वदेश फर्किन प्रेरित गर्ने दीर्घकालीन नीति निर्माण गरी कार्यान्वयन गर्न जति ढिला गर्यो त्यतिनै संकट जटिल बन्दै जान्छ । राष्ट्रियताको संरक्षण गर्न अंगीकृत नागरिकता सम्बन्धी कानूनमा कडाइ गर्नुपर्छ ।
कुनैपनि देशको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो । जुन देशमा जति धेरै जनसंख्या छ त्यो देश त्यत्तिनै शक्तिशाली हुन्छ भन्ने राजनीतिकशास्त्रीहरुको भनाइ छ । जसको धेरै सन्तान उसको धन, जसको धेरै गाईभैंसी उसैको वन भन्ने भनाइ नेपाली समाजमा परापूर्व कालदेखि चल्दै आएको छ, जुन यथार्थपरक छ । वर्तमानमा गरिने रणनीतिक निर्णयहरूले भोलिको पुस्ता सुरक्षित राख्न सकिन्छ । कतिपय देशमा जनसंख्या वृद्धिका लागि सरकारले विभिन्न नीतिहरु सार्वजनिक गरेका छन् । नेपालले पनि जनसंख्या वृद्धिका लागि युवाशक्तिलाई स्वदेशमै रोजगारीलगायत विभिन्न अवसरको सिर्जना गर्नेगरी नीति सार्वजनिक गर्न जरुरी छ ।





