काठमाडाैं । सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसदहरुले विचौलियाहरुको चलखेल, भिजिट भिसा प्रकरणमाथि छानबिन, सुदूरपश्चिममा रहेको छाउपडी प्रथालगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय बिचौलियाहरुको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रुपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै मन्त्रीको घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भ्रष्टाचार र कमिसनमा सरकार व्यस्त रहेको आरोप लगाउँदै प्रधानमन्त्री र मन्त्रीहरुमा नैतिकताको खडेरी रहेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभयो । उहाँले स्पेन प्रकरणले मानव तस्करीको सञ्जालमा राजनीतिक संरक्षण दिइएको आरोप लगाउनुभयो । उहाँले २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति आपत्ति जनाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभयो । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको आरोप लगाउँदै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
स्वतन्त्र सांसद डा. अमरेसकुमार सिंहले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा कायम भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधान प्रदत्त समानताको अधिकारविरुद्ध छाउपडी प्रथा कायम राख्नेमाथि तिनै तहको सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले एक्काइशौँ शताब्दीमा छुवाछुतको व्यवस्था कायम रहनु राष्ट्र र लोकतन्त्रमाथिनै कलंकको विषय भएको बताउनुभयो ।
सांसद डा. सिंहले मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएपनि त्यसको उद्धारका लागि सरकारले कुनै योजना नबनाएकोप्रति रोष प्रकट गर्नुभयो ।





