काठमाडौंं, १५ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा अहिले सम्म विभिन्न प्रदेशबाट २४ जना उम्मेदवार निर्बिरोध निर्वाचित भैसकेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार, आज दिनको २ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यसैगरी, निर्वाचन अधिकृतहरुको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् भने अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारमा निर्वाचन हुने भएको छ ।
प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य पदमा निर्वाचन हुने छ ।
प्राप्त विवरण अनुसार, प्रदेश नम्बर ५ मा महिला ३ पदमा निर्विरोध निर्वाचित भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ ।
त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।