एजेन्सी,६ चैत्र । इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।
सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको बताइएको छ ।
डेमाक विपद् व्यवस्थापन निकायका अनुसार ११ उपजिल्लाका ८९ गाउँ ३० देखि ८० सेन्टिमिटरसम्मको गहिराइमा डुबानमा परेका छन् ।
वुलान नदीमा रहेको बाँध भत्किँदा डेमक र छिमेकी जिल्ला कुदुस जोड्ने प्रादेशिक राजमार्गको एक खण्ड अवरुद्ध भएपछि बाढीले डेमकमा झनै गम्भीर संकट निम्तिएको बताइएको छ । वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू आउने गर्दछन् ।