काठमाडौं, १३ माघ । डिल्लीबजार कारागारबाट भागेका चोरीका आरोपी टिके भनेर चिनिने टीकाबहादुर थापालाई प्रहरीले गोली हानेको छ । गोली लागेर उनी गम्भीर घाइते भएका छन् ।
कारगारबाट भागेका टिकेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साइ पेट्रोल पम्प अगाडि शनिबार साँझ सबा पाँचमा जाँच गर्ने क्रममा टिकेले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको बताएको छ । उनको तिघ्रा र हातमा गोली लागेको छ ।
उनी यही माघ ४ गते राति डिल्लीबजार कारागारबाट भागेपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो । काठमाडौंमा चोरी, लुटपाट र डकैती सम्बन्धी घटनामा टिके बारम्बार पक्राउ पर्ने गरेका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनकाे स्थायी ङर रामेछापकाे दोरम्बामा पर्छ ।