१७, जेठ, काठमाडौं । सांसदहरुले विशेषज्ञहरुको सुझाव लिएर संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन ।
बुधबार बसेको व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले संघीय पुनर्संरचनाको कामलाई राजनीतिक भागबण्डाको विषय नबनाउनसरकारलाई सचेत गराएका छन ।
कांग्रेस सांसद इश्वरी न्यौपानेले आवश्यक्ताको आधारमा संघीय, प्रदेश र स्थानीय तहमा जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । एमाले सांसद गंगालाल तुलाधरलेस्थानीय तहमा जनप्रतिनिधिहरु व्यवस्था भईसकेकाले सोही अनुसारको कर्मचारीको व्यवस्था गर्न ढिलाई नगर्न सरकारसँग माग गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कर्मचारीतन्त्रलाई जनमुखि सेवा दिने सक्नेगरी पुनर्संरचना गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले समितिमा पेश गरेको संघीय प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदनमा राजनीतिक दलहरुले दिएको सुझावलाई मुख्य आधार बनाएर प्रशासनिक पुनर्संरचना गर्ने उल्लेख गरिएको छ ।




