काठमाडौं । जब पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा उभिन्छन्, उनका ओठबाट पटक–पटक वर्ग संघर्ष, उत्पीडित समुदायको मुक्ति, क्रान्तिकारी पुनर्गठन र सत्ताको मोह त्याग्ने भावुक उद्घोषहरू प्रतिध्वनित हुन्छन् । राजधानीमा आईतवार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै फेरि एक पटक उनले दाबी गरे–‘केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । अब सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुनुहुँदैन, यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्छ ।’
दाहालको यो अभिव्यक्ति कुनै नयाँ आविष्कार वा अचानक प्राप्त भएको आत्मज्ञान थिएन । विगत दुई दशकको नेपाली राजनीतिक इतिहास पल्टाएर हेर्ने हो भने उनका यस्ता क्रान्तिकारी पश्चात्ताप र आत्मस्वीकारोक्तिहरू दर्जनौँ पटक दोहोरिइसकेका छन् । तर प्रश्न उठ्छ–के भाषणमा बोलिएको सिद्धान्त र काठमाडौंमा रचिने सत्तासमीकरणबीच कुनै तालमेल छ ? मञ्चबाट आन्दोलन र संघर्षमा केन्द्रित हुने उपदेश दिइरहँदा, त्यही समयमा प्रदेश सरकारहरूमा मन्त्रालयको भागबण्डा मिलाउन, मुख्यमन्त्री पार्टीका नेतालाई बनाउन र नयाँ गठबन्धनको तानाबाना बुन्न उनकै दलका दुतहरू बालकोट र विभिन्न होटलका कोठाहरूमा गुप्त मन्त्रणा गरिरहेका हुन्छन् ।
यो विरोधाभास नै आजको नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो ट्रयाजेडी हो । उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र श्रमजीवी जनताको मुद्दालाई राजनीतिक सौदाबाजीको भ¥याङ बनाउने र जब सत्ताबाट बहिर्गमन हुन्छ, तब पुनः ‘जनता र वर्ग संघर्ष’को जिकिर गर्ने दोहोरो चरित्रले कम्युनिस्ट नैतिकतालाई नै रसातलमा पु¥याएको छ ।
भाषणमा क्रान्तिकारी आदर्श र व्यवहारमा सत्ताको अंकगणित–यही अन्तरविरोधले नेपाली कम्युनिष्ट आन्दोलनलाई सैद्धान्तिक रूपमा पंगु बनाएको छ ।
बारम्बारको गल्ती स्वीकारः आत्मसमीक्षा कि राजनीतिक रणनीतिक कवच ?
पुष्पकमल दाहाल नेपाली राजनीतिका त्यस्ता अनौठा पात्र हुन्, जो जति सजिलै आफ्ना गल्तीहरू सार्वजनिक रूपमा स्वीकार गर्छन्, त्यति नै द्रुत गतिमा तिनै गल्तीहरूलाई अझ भद्दा रूपमा दोहो¥याउँछन् । शान्ति प्रक्रियामा आएदेखि हालसम्म उनले पटक–पटक सार्वजनिक मञ्चहरूबाट स्वीकार गरेका छन् । ‘हामी बिग्रियौँ’, ‘हामीमा पनि बुर्जुवा संसदीय विलासिता पस्यो’, ‘हामीले कार्यकर्ता र शहीद परिवारलाई बिर्सियौँ’, ‘एमालेसँगको हतारको एकता र त्यसपछिको विग्रह हाम्रो कमजोरी थियो’, ‘काँग्रेससँगको अप्राकृतिक गठबन्धन जनताले रुचाएनन् ।’
तर मार्क्सवादी द्वन्द्ववादले के सिकाउँछ ? गल्ती स्वीकार्नु कुनै चटक वा नाटक होइन । गल्ती स्वीकार्नुको एकमात्र उद्देश्य त्यस गल्तीको जड पत्ता लगाएर त्यसलाई व्यवहारमा सच्याउनु र आन्दोलनलाई अग्रगामी दिशा दिनु हो । यदि कुनै नेताले ‘मैले विष पिएँ’ भन्दै फेरि–फेरि अमृतको खोजी नगरी विषकै घुट्को लिइरहन्छ भने, त्यो भूल होइन, आत्मघाती अपराध हो ।
दाहालको आत्मस्वीकारोक्ति प्रायः त्यतिबेला मात्र आउँछ जब उनी सत्ताको केन्द्रबाट प्रतिपक्षको बेन्चमा पुग्छन् । जबसम्म उनी सत्ताको केन्द्रमा रहन्छन्, तबसम्म उनलाई सत्ता नै अन्तिम साध्य लाग्छ, जब सत्ता गुम्छ, तब उनलाई ‘सडक, सदन र आन्दोलनको त्रिआयामिक मोर्चा’ सम्झना आउँछ । यो माक्र्सवादी आलोचना–आत्मआलोचनाको पद्धति होइन, बरु जनआक्रोशलाई मत्थर पार्ने र कार्यकर्ताको भावनात्मक दोहन गर्ने ‘निम्न–पुँजीवादी अवसरवाद’को क्लासिक नमूना हो ।
गल्तीलाई केवल शब्दमा स्वीकार्ने तर व्यवहारमा सत्तामोह नै कायम राख्ने प्रवृत्ति माक्र्सवादी आत्मआलोचना नभई जनता झुक्याउने रणनीति मात्र हो ।
प्रदेश सरकारको ताजा दृष्टान्त र सिद्धान्तहीन गठबन्धन
दाहालले विगतका कमीकमजोरी नदोहोरिने गरी अगाडि बढ्न आह्वान गरिरहँदा प्रदेशहरूमा देखिएको राजनीतिक परिदृश्य कस्तो छ ? कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाको राजनीतिक अडान के रह्यो ? जहाँ–जहाँ सत्ताको सानो अंश पनि हात लाग्ने सम्भावना देखियो, त्यहाँ कुनैपनि सिद्धान्त, विचार, वा विगतका तिक्तताको पर्वाह नगरी मन्त्री पदका लागि समीकरण बनाइएको छ ।
कहिले नेपाली काँग्रेससँग मिलेर एमालेलाई ‘प्रतिगामी’ करार गर्ने, कहिले फेरि रातारात एमालेसँग मिलेर काँग्रेसलाई ‘दलाल पुँजीवादको संवाहक’ भन्ने र फेरि परिस्थिति बदलिनासाथ पुरानै कित्तामा फर्कने यो ‘जादुयी छलाङ’ वास्तवमा कुनै रणनीतिक कौशल होइन, यो राजनीतिक विश्वसनीयताको पूर्ण स्खलन हो । प्रदेश सरकारहरूमा मन्त्रालय फुटाएर भएपनि आफ्ना मान्छे भर्ती गर्ने, बजेटमा विचौलिया पोस्ने र स्थानीय जनताका आधारभूत आवश्यकतालाई पूर्णतया उपेक्षा गर्ने कार्यशैलीले के पुष्टि गर्छ भने– दाहालको कम्युनिस्ट पुनर्गठनको भाषण केवल नयाँ सत्ता समीकरण बनाउनका लागि फालिएको एउटा ‘बार्गेनिङ चिप’ मात्र हो । तर प्रदेशमा अहिले मन्त्रालय घटाइएको छ । गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनपछि संघ सरकारमा नयाँ सरकारको निर्माण भएसँगै मन्त्रालयको संख्या घटाइएको छ । केही प्रदेशमा पनि मन्त्रालयको संख्या घटाइएको छ । अब कम्युनिष्ट र काँग्रेसले प्रदेशमा के गर्छन् र कस्तो राजनीति गर्छन् भन्नेकुरा हेर्न बाँकी नै छ ।
मार्क्स , एंगेल्स, लेलिन र माओको दार्शनिक दृष्टिकोणः गल्ती सच्याउने वैज्ञानिक औजार
मार्क्सवादी दर्शन कुनै जडसूत्र होइन, यो प्रकृतिको, समाजको र मानव चिन्तनको विकासलाई बुझ्ने वैज्ञानिक पद्धति हो । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले स्पष्ट रूपमा भनेका छन् कि कुनै पनि क्रान्तिकारी आन्दोलन त्रुटिहीन हुन सक्दैन किनभने मानिसले सामाजिक अभ्यासको क्रममा मात्र सत्यको उद्घाटन गर्दछ । जब सिद्धान्त र ठोस परिस्थितिको मेल खाँदैन, तब त्रुटिहरू जन्मिन्छन् ।
माक्र्सले फ्रान्सको गृहयुद्ध र अठारौँ ब्रुमेरमा विश्लेषण गर्दै लेख्नुभएको थियो । ‘सर्वहारा क्रान्तिहरूले निरन्तर आफ्नो आलोचना आफैँ गर्छन्, आफ्नो मार्गमा आउने त्रुटिहरूलाई निर्ममतापूर्वक केलाउँछन् र आधा काम छोडेर अगाडि बढ्दैनन् ।’
यसको अर्थ के हो भने, कम्युनिष्ट आन्दोलनमा गल्ती हुनु अस्वाभाविक होइन तर गल्तीको पहिचान गरेपछि त्यसलाई ढाकछोप गर्नु वा स्वीकारेर पनि नसुधार्नु कम्युनिस्ट सिद्धान्तको प्रत्यक्ष विसर्जन हो ।
द्वन्द्ववादको नियमअनुसार पुरानो र नयाँ, सही र गलतबीचको निरन्तर संघर्षबाट नै सत्यको विकास हुन्छ । यदि गल्तीलाई स्वीकारेर ठोस व्यवहारमा रूपान्तरण गरिँदैन भने त्यो द्वन्द्वात्मक भौतिकवाद नभएर आदर्शवादी पाखण्डमा परिणत हुन्छ ।
‘सर्वहारा क्रान्तिहरू निरन्तर आफ्नै आलोचना गर्छन्, आफ्नै गल्तीहरूको निर्मम शल्यक्रिया गर्दछन् ताकि उनीहरू अझ बलियो भएर अघि बढ्न सकुन् ।’
भ्लादिमिर लेलिन र पार्टी जीवनमा ‘निर्मम आत्मसमीक्षा’को अनिवार्यता
रुसी क्रान्तिका नायक भ्लादिमिर इलिच लेलिनले आफ्नो प्रसिद्ध कृति ‘कम्युनिस्ट आन्दोलनमा वामपन्थी बालरोग’ मा लेख्नुभएको छ । ‘कुनै राजनीतिक पार्टीले आफ्ना गल्तीहरूप्रति कस्तो दृष्टिकोण राख्छ भन्नेकुरा नै त्यो पार्टी कति गम्भीर छ र उसले आफ्नो वर्ग तथा श्रमजीवी जनताप्रति आफ्नो कर्तव्य कत्तिको निष्ठापूर्वक पूरा गरिरहेको छ भन्ने कुराको प्रमुख र भरपर्दो मापदण्ड हो । खुल्ला रूपमा आफ्ना गल्तीहरू स्वीकार्नु, गल्ती हुनुका कारणहरूको खोजी गर्नु, जुन परिस्थितिमा गल्ती भयो त्यसको वस्तुगत विश्लेषण गर्नु र ती गल्तीहरूलाई होशियारीपूर्वक सच्याउनु–यही नै एउटा गम्भीर पार्टीको पहिचान हो ।’
लेलिनको यो भनाइले आजका नेपाली कम्युनिष्ट नेताहरूको अनुहारमा ठूलो ऐना देखाइदिएको छ । लेलिनले गल्ती स्वीकार्नुलाई केवल ‘घोषणा’ भनेका छैनन्, बरु ‘होशियारीपूर्वक सच्याउने अभ्यास’ लाई अनिवार्य शर्त मानेका छन् । जब नेताहरूले पार्टीलाई आफ्नो व्यक्तिगत गुटको प्राइभेट लिमिटेड कम्पनी बनाउँछन् र आफ्ना गल्तीहरूलाई ‘कार्यनीतिक लचकता’ को आवरणमा जायज ठह¥याउँछन्, तब लेलिनवादी सांगठनिक पद्धति भत्किन्छ र त्यहाँ केवल बुर्जुवा गुटबन्दी बाँकी रहन्छ ।
‘आफ्ना गल्तीहरू खुल्ला रूपमा स्वीकार्नु, कारण खोज्नु र त्यसलाई होसियारीपूर्वक सच्याउनु–यही नै एउटा गम्भीर सर्वहारा पार्टीको वास्तविक पहिचान हो ।’ भ्लादिमिर लेलिनले भनेका छन् ।
माओ त्सेतुङ र यनान शुद्धीकरणः ‘रोग निको पार्न बिरामी बचाउने’ विधि
चिनियाँ कम्युनिष्ट पार्टीको विकासमा अध्यक्ष माओ त्सेतुङले आलोचना र आत्मआलोचनालाई पार्टी जीवनको नियमित अस्त्रका रूपमा विकास गर्नुभयो । सन् १९४२ देखि १९४५ सम्म चलेको ऐतिहासिक ‘यनान शुद्धीकरण आन्दोलन’ माओवादी विचारको त्यो आधारशीला थियो जसले पार्टीभित्रको जडसूत्रवाद, संकीर्ण अनुभववाद र निम्न–पुँजीवादी व्यक्तिवादलाई परास्त ग¥यो ।
माओले दुईवटा प्रसिद्ध सूत्र प्रतिपादन गर्नुभयो
पहिलोः ‘विगतका गल्तीहरूबाट शिक्षा लिने ताकि भविष्यमा नदोहोरिउन् ।’
दोस्रोः ‘रोग निको पार्ने र बिरामीलाई बचाउने ।’
माओको प्रष्ट मान्यता थियो कि आलोचनाको उद्देश्य कमरेडहरूलाई सिध्याउनु वा अपमानित गर्नु होइन, बरु उनीहरूभित्र रहेको गैर–सर्वहारा सोचलाई पखालेर पुनः क्रान्तिकारी धारमा ल्याउनु हो । तर यसका लागि ‘सच्चा आत्मआलोचना’ र ‘व्यवहारगत रूपान्तरण’ पहिलो शर्त थियो । माओले भन्नुभएको थियो– ‘हाम्रो कोठालाई नियमित रूपमा सफा गरिएन भने त्यसमा धुलो जम्छ, हाम्रो अनुहार नियमित नधोए फोहोर हुन्छ । हाम्रा कमरेडहरूको दिमाग र पार्टीको काममा पनि नियमित रूपमा आलोचना र आत्मआलोचनाको झाडु नलगाए राजनीतिक फोहोर जम्छ ।’
तर नेपालमा के भयो ? यहाँ आलोचना गर्ने कार्यकर्तालाई ‘शत्रु’ वा ‘गुटविरोधी’ देख्ने र नेतृत्वले गरेको गल्तीलाई ‘महान छलाङ’ भनेर भजन गाउने दास मानसिकताको विकास गरियो । यसले गर्दा पार्टीभित्र शुद्धीकरण होइन, नेतृत्वको चाकडी गर्ने दलाल पुँजीवादी प्रवृत्तिको संस्थागत विकास भयो ।
नेपाली कम्युनिष्ट आन्दोलन र प्रचण्ड परिघटनाः उद्गम, उत्कर्ष र स्खलन–जनयुद्धको रापतापदेखि सिंहदरबारको गणितीय बार्गेनिङसम्मको आरोह–अवरोह
नेपालको इतिहासमा २०५२ फागुन १ गते शुरु भएको माओवादी जनयुद्ध केवल एउटा सशस्त्र विद्रोह मात्र थिएन, यो शताब्दीऔँदेखि सामन्ती एकात्मक राजतन्त्र, जातीय विभेद, क्षेत्रीय उत्पीडन र वर्गीय शोषणमा पिल्सिएका बहुसङ्ख्यक नेपाली जनताको मुक्ति–आकांक्षाको विस्फोट थियो । रोल्पा र रुकुमका विकट गाउँहरूबाट शुरु भएको त्यो आन्दोलनले नेपाली समाजको पिँधमा रहेका दलित, जनजाति, मधेसी, महिला र गरिब किसानलाई राजनीतिको केन्द्रमा ल्याइदियो ।
त्यसबेला प्रचण्ड कुनै व्यक्ति मात्र थिएनन्, उनी उत्पीडित वर्गका सपना, त्याग र हजारौँ सहिदहरूको रगतले सिञ्चित क्रान्तिका विम्ब थिए । चुनवाङ बैठक (२०६२) सम्म आइपुग्दा माओवादीले लिएको ‘लोकतान्त्रिक गणतन्त्र’ को कार्यदिशाले तत्कालीन सात संसदवादी दल र विद्रोही माओवादीबीच १२ बुँदे समझदारीको ऐतिहासिक ढोका खोल्यो । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेपाली जनताले माओवादीलाई दिएको अभूतपूर्व बहुमत (२२९ सिट) यसैको प्रमाण थियो । जनताले सोचेका थिए–अब नेपालमा साँच्चिकै नयाँ युगको शुरुवात हुनेछ, दलाल र शोषकहरूको अन्त्य भई श्रमजीवी जनताको राज्यसत्ता स्थापना हुनेछ ।
सिंहदरबारको मोह र क्रान्तिकारी रूपान्तरणको विसर्जन
तर विडम्बना । शान्ति प्रक्रियामा प्रवेश गरेसँगै माओवादी नेतृत्वले सर्वहारा वर्गको झुपडी छोडेर काठमाडौंका आलिसान महल र प्राडो–पजेरोको संस्कृति अँगाल्न थाल्यो । जुन सेना र कार्यकर्ताले बन्दुक बोकेर ज्यानको बाजी लगाए । उनीहरू क्यान्टोन्मेन्टमा अलपत्र परे । तर नेतृत्व भने तस्कर, विचौलिया र दलाल पुँजीपतिहरूको घेराबन्दीमा रमाउन थाल्यो ।
पहिलो संविधानसभाको विघटन, पार्टीभित्रको आन्तरिक विग्रह, बाबुराम भट्टराई र मोहन वैद्यसँगको वैचारिक तथा सांगठनिक विभाजन–यी सबै प्रचण्डको एकाधिकारवादी र अस्थिर कार्यशैलीका उपज थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादी तेस्रो स्थानमा खुम्चिनु कुनै षड्यन्त्र थिएन, त्यो जनताले दिएको प्रत्यक्ष सजाय थियो । तर नेतृत्वले यसबाट शिक्षा लिएन । उल्टै ‘संसदीय गणितको किङमेकर’ बन्ने खेलमा लाग्यो, जहाँ ३२ सिटको सानो संख्या लिएर पनि पाँच वर्षसम्म कहिले शेरबहादुर देउवा त कहिले केपी शर्मा ओलीको काँधमा चढेर सत्ताको स्वाद चाखिरहने विकृत संसदीय खेल शुरु भयो ।
‘शान्ति प्रक्रियामा आएपछि हामीले जनतालाई बिर्सियौँ, हाम्रा आचरणहरू बदलिए, हामी पनि पुराना संसदवादी जस्तै भयौँ ।’ यो वाक्य प्रचण्डले भन्न थालेको धेरै भइसकेको छ ।
नेकपा एकता, विघटन र प्रदेश तहको सत्ता–दौड
२०७४ सालको आम निर्वाचनमा एमाले र माओवादीबीच भएको चुनावी तालमेल र त्यसपछिको पार्टी एकता (नेकपा) ले नेपाली जनतामा राजनीतिक स्थिरता र समाजवादउन्मुख समृद्धिको ठूलो आशा जगाएको थियो । करिव दुई तिहाइको शक्तिशाली सरकार बन्यो । तर त्यो एकता विचार, सिद्धान्त र वर्ग दृष्टिकोणमा आधारित थिएन, त्यो केवल दुई शिर्ष नेताहरू (केपी ओली र प्रचण्ड) बीचको सत्ता साझेदारी र अहंकारको व्यवस्थापन गर्ने अस्थायी सम्झौता थियो ।
परिणामस्वरूप, आधा कार्यकालको प्रधानमन्त्रीको कुर्सीका लागि शुरु भएको झगडाले अन्ततः संसद विघटन, सडकको तमासा र अदालतको फैसलाबाट पार्टी नै खारेज हुने लज्जास्पद स्थितिमा पु¥यायो । नेकपाको यो विग्रह कम्युनिस्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति थियो । तर यसको जिम्मेवारी कसले लियो ? न ओलीले आफ्नो अधिनायकवादी कार्यशैलीको गम्भीर समीक्षा गरे, न प्रचण्डले आफ्नो अस्थिर र अवसरवादी रणनीतिको जिम्मा लिए । दुवैले एकअर्कालाई दोष थोपरेर आफूलाई ‘चोखो’ प्रमाणित गर्ने हास्यास्पद प्रयास गरे ।
आज फेरि जब प्रचण्ड ‘सहकार्य र पुनर्गठन’ को कुरा गर्छन्, जनता र कार्यकर्ताले सोधिरहेका छन्, के यो फेरि अर्को कुनै गठबन्धन बनाएर सरकारमा पुग्ने नयाँ पासा मात्र त होइन ? प्रदेशहरूमा मन्त्री पदका लागि भइरहेको खिचातानीले जनताको यो संशयलाई दिनहुँ सत्य सावित गरिरहेको छ ।
नेपालका अन्य कम्युनिष्ट नेताहरूको आत्मस्वीकारोक्ति र व्यवहारको द्वन्द्व
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको अर्को शक्तिशाली पात्र हुन् । राष्ट्रियताका सवालमा २०७२ को नाकाबन्दीका बेला उनले लिएको दृढ अडानले उनलाई जनस्तरमा लोकप्रिय बनायो । तर सत्ताको उन्मादमा पुगेपछि उनले देखाएको स्वेच्छाचारी चरित्रले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का दियो ।
दुई–दुई पटक असंवैधानिक रूपमा संसद विघटन गर्नु, पार्टीको अन्तरविरोधलाई समाधान गर्न नसकेर फुटको बाटो रोज्नु, र आफ्ना आलोचकहरूलाई पार्टीबाट निष्कासन गर्नु उनका ऐतिहासिक भूलहरू थिए । यद्यपि पछि सर्वोच्च अदालतले संसद पुनस्र्थापना ग¥यो र जनताले निर्वाचनमार्फत सन्देश दिए तर ओलीले कहिल्यै पनि संसद विघटनको गल्तीलाई औपचारिक रूपमा आत्मआलोचना गरेनन् । बरु त्यसलाई ‘बाध्यात्मक कदम’ र ‘क्रान्तिकारी कदम’ भन्दै सैद्धान्तीकरण गर्ने प्रयास गरे । गल्ती स्वीकार नै नगर्ने र अहंकारलाई नै सिद्धान्त बनाउने यो प्रवृत्ति लेलिनवादी पद्धतिको घोर उल्लंघन हो । परिणामतः देशका लागि भन्दा धेरै पार्टी र कार्यकर्ताको लागि देशको नेतृत्व लिएर काम गर्दा गत वर्षको भदौ २३ र २४ को जेन–जी आन्दोलन भयो । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नु भन्दा बढी उनले त्यसलाई ढाकछोप गरेको भन्दै युवाहरु काँग्रेस–एमालेको सरकारविरुद्ध खनिए । परिणामतः नेतृत्वमा रहेका ओली सत्ताबाट लगभग सधैँका लागि च्युत भए । उनी आफू मात्र भएनन्, एमाले पार्टीलाई पनि ठूलो क्षति पुगेको राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यसको परिणाम गत वर्ष फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले देखाइसकेको छ ।
मदन भण्डारी र जबजः सिद्धान्तको सिर्जनात्मक प्रयोग तर प्रयोगकर्ताहरूको विचलन
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा महत्वपूर्ण सैद्धान्तिक मोड थियो । शोभियत संघको विघटन र पूर्वी युरोपमा समाजवादको पतनपछि कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिष्पर्धा, कानूनी शासन, मानव अधिकार र आवधिक निर्वाचनसँग जोडेर उनले कम्युनिष्ट आन्दोलनलाई जनप्रिय बनाए ।
मदन भण्डारीले आफ्ना दस्तावेजहरूमा स्पष्ट लेखेका थिए–‘कम्युनिष्टहरूले जनताको विश्वास जितेर मात्र शासन गर्नुपर्छ, प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नुपर्छ र आफ्ना कमजोरीहरूलाई जनतासामु राख्नुपर्छ ।’
तर मदन भण्डारीपछिको एमाले नेतृत्वले जबजलाई ‘क्रान्तिकारी सिद्धान्त’ बाट घटाएर केवल ‘संसदीय चुनाव जित्ने र सरकार बनाउने भ¥याङ’ मा सिमित गरिदियो । जबजको आवरणमा भएको यो बुर्जुवाकरणले पार्टीलाई दलाल पुँजीवादको संरक्षकजस्तो बनाइदियो ।
डा. बाबुराम भट्टराईः माक्र्सवाद परित्याग र नयाँ शक्तिको दिग्भ्रमित यात्रा
माओवादी जनयुद्धका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७२ सालमा संविधान जारी भएलगत्तै ‘अब नेपालमा कम्युनिष्ट विचारको औचित्य सकियो, कम्युनिस्ट पार्टी रातो स्टिकर टाँसेको घरजस्तै भयो ।’ भन्दै माक्र्सवाद नै परित्याग गरे । उनले आफ्ना विगतका कम्युनिस्ट भुमिकाहरूप्रति पश्चात्ताप गर्दै ‘नयाँ शक्ति पार्टी’ गठन गरे ।
तर के त्यो गल्तीको सही विकल्प थियो ? माक्र्सवाद त्यागेर बनाइएको नयाँ शक्ति अन्ततः उपेन्द्र यादवको मधेसवादी दलसँग एकता, त्यसपछि विभाजन र फेरि नेपाल समाजवादी पार्टी हुँदै आज राजनीतिक अस्तित्वमा छैन । बाबुरामले गल्ती त औँल्याए तर समाधानको नाममा पुँजीवादी उदारवादको शरणमा पुगे । यसले के देखाउँछ भने–माक्र्सवादको कमजोरी औँल्याएर त्यसलाई सुधार्नुको सट्टा सिद्धान्त नै विसर्जन गर्दा नेता कसरी इतिहासको बन्दी बन्न पुग्छ ।
मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’
नेपालका अन्य कम्युनिष्ट नेताहरूको अवस्था पनि सन्तोषजनक छैन । मोहनविक्रम सिंहले जीवनभर अरूलाई ‘गद्दार’ र ‘संशोधनवादी’ को बिल्ला भिराउँदै पार्टी फुटाइरहे तर व्यवहारमा उनी प्युठानको एउटा निर्वाचन क्षेत्र र आफ्नी श्रीमतीलाई मन्त्री बनाउने संसदीय घेराभन्दा माथि उठ्न सकेनन् ।
मोहन वैद्य ‘किरण’ ले क्रान्तिकारी निष्ठा त देखाए तर समयको गति र ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा जडसूत्रवादको शिकार भएर आफ्नो समूहलाई निष्प्रभावी बनाए । यता विप्लवले ‘एकीकृत जनक्रान्ति’ को नाममा फेरि बन्दुक उठाए, चन्दा आतंक मच्चाए तर अन्ततः कुनै ठोस राजनीतिक उपलब्धिबिना पुनः शान्तिपूर्ण खुला राजनीति र चुनावकै बाटोमा फर्किए । यी सबै दृष्टान्तहरूले पुष्टि गर्छन् कि नेपालका कम्युनिष्ट नेताहरू या त जडसूत्रवादी जडतामा फसेका छन्, या त घोर दक्षिणपन्थी अवसरवाद र सत्ताको खेलमा ।
विश्व कम्युनिष्ट आन्दोलनमा गल्ती स्वीकार र सुधारका ऐतिहासिक दृष्टान्त
भ्लादिमिर लेलिन र ‘युद्धकालीन साम्यवाद’ बाट ‘नयाँ आर्थिक नीति’ मा ऐतिहासिक प्रत्यावर्तन
सन् १९१७ को अक्टोबर क्रान्ति र त्यसपछिको गृहयुद्ध (१९१८–१९२१) को कठिन समयमा सोभियत सत्ताले ‘युद्धकालीन साम्यवाद’ को नीति लागू ग¥यो। यसअन्तर्गत किसानको अतिरिक्त अन्न जबरजस्ती राज्यले जफत गर्ने, निजी व्यापारमा पूर्ण प्रतिबन्ध लगाउने र सबै उद्योगहरूको कठोर केन्द्रीकृत नियन्त्रण गर्ने नीति लिइयो । यस नीतिले गृहयुद्धमा लालसेनालाई जिताउन त मद्दत ग¥यो तर युद्ध समाप्त हुनासाथ यसले गाउँ–गाउँमा किसानको चर्को असन्तोष, भोकमरी र क्रोन्सतादमा नाविकहरूको विद्रोह निम्त्यायो ।
त्यस गम्भीर मोडमा लेलिनले आफ्नो अहंकार वा हठ प्रश्तुत गरेनन् । सन् १९२१ को १० औँ पार्टी महाधिवेशनमा लेलिनले खुल्ला मञ्चबाट स्वीकार गरे–‘हामीले गल्ती ग¥यौँ । हामीले सोचेका थियौँ कि सिधै साम्यवादी उत्पादन र वितरण प्रणालीमा छलाङ मार्न सकिन्छ तर हाम्रो यो कदम वस्तुगत परिस्थितिसँग मेल खाएन । हामीले किसानहरूसँगको सम्बन्ध बिगार्यौँ ।’
लेलिनले गल्ती स्वीकार मात्र गरेनन्, तत्कालै ‘नयाँ आर्थिक नीति’ लागू गरे ।
एनइपीअन्तर्गत किसानलाई अन्न जफत गर्नुको सट्टा निश्चित कर प्रणाली लागू गरियो, बाँकी अन्न खुला बजारमा बेच्न दिइयो, साना उद्योगहरूमा निजी स्वामित्वलाई अस्थायी रूपमा छुट दिइयो र राज्य नियन्त्रित पुँजीवादको अभ्यास गरियो । लेलिनको यो रणनीतिक कदमले ध्वस्त भएको शोभियत अर्थतन्त्रलाई केही वर्षमै पुनर्जीवित ग¥यो, भोकमरी अन्त्य भयो र मजदुर–किसान एकता पुनः सुदृढ बन्यो । लेलिनले प्रमाणित गरिदिए कि गल्ती स्वीकारेर पछाडि हट्नु भनेको आत्मसमर्पण होइन, बरु अझ ठूलो छलाङका लागि शक्ति सञ्चय गर्नु हो ।
‘हामीले सिधै कम्युनिस्ट उत्पादनमा पुग्न खोजेर गल्ती ग¥यौँ । किसानसँगको सम्बन्ध सुधार्न र अर्थतन्त्र बचाउन हामीले एक कदम पछि हटेर दुई कदम अगाडि बढ्नैपर्छ ।’ उनले भनेका छन् ।
हो चि मिन्हः १९५६ को भूमि सुधार गल्ती र जनतासामु आँसुसहितको माफी
भियतनामका क्रान्तिकारी नेता हो चि मिन्ह विश्व कम्युनिष्ट आन्दोलनमा त्याग, सादगी र उच्च कम्युनिस्ट नैतिकताका सर्वोच्च प्रतीक मानिन्छन् । फ्रान्सेली साम्राज्यवादलाई परास्त गरेपछि उत्तरी भियतनाममा सन् १९५३ देखि १९५६ सम्म व्यापक भूमि सुधार कार्यक्रम चलाइयो । तर स्थानीय तहका पार्टी कमिटीहरूमा अतिवाद, पूर्वाग्रह र गलत वर्गीकरणका कारण हजारौँ निर्दोष किसान, साना जमिन्दार र यहाँसम्म कि क्रान्तिमा सहयोग गरेका देशभक्त व्यक्तिहरूलाई पनि ‘शत्रु’ घोषणा गरी दण्डित गरियो ।
जब हो चि मिन्हलाई यो कुरा थाहा भयो, उनले कुनै बहानाबाजी गरेनन् वा नोकरशाही संयन्त्रलाई दोष दिएर आफू पन्छिएनन् । सन् १९५६ मा उनले राष्ट्रिय रेडियो र आमसभाबाट प्रत्यक्ष रूपमा भियतनामी जनतासामु सम्बोधन गर्दै आफ्ना गल्तीहरू स्वीकारे । सम्बोधनको क्रममा उनका आँखाबाट आँसु खसेको थियो ।
उनले भने–‘हाम्रो पार्टीले ठूलो गल्ती गरेको छ । हाम्रा कमरेडहरूले निर्दोष जनतालाई अन्याय गरे। पार्टी अध्यक्षको हैसियतले यसको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी म लिन्छु ।’
हो चि मिन्ह त्यतिमै रोकिएनन् । उनले तत्कालै पार्टी महासचिव ट्रुओङ चिनलाई पदबाट राजीनामा गराए, गल्ती सच्याउनका लागि विशेष सुधार आयोग गठन गरे, अन्यायमा परेका हजारौँ नागरिकलाई पुनस्र्थापना गरी उनीहरूको जग्गा फिर्ता गरियो, क्षतिपूर्ति दिइयो र जेलमा रहेकाहरूलाई रिहाइ गरियो । हो चि मिन्हको यो निष्कपट आत्मसमीक्षा र वास्तविक सुधारले भियतनामी जनतामा पार्टीप्रतिको विश्वासलाई यति मजबुत बनायो कि त्यही एकताको बलमा भियतनामले पछि विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकी साम्राज्यवादी सेनालाई समेत परास्त गर्न सफल भयो ।
‘एउटा पार्टी जसले आफ्ना गल्तीहरू लुकाउँछ, त्यो पार्टी मरेको सरह हो । सच्चा कम्युनिस्ट त्यो हो जसले जनतासामु आफ्ना कमजोरी स्वीकार्छ र त्यसलाई सच्याउन आफ्नो ज्यान दिन्छ ।’ उनले भनेका छन् ।
माओ त्सेतुङ र ‘ग्रेट लिप फरवार्ड’ को ७००० क्याडर सम्मेलनमा आत्मआलोचना
चीनमा सन् १९५८ देखि १९६१ सम्म सञ्चालित ‘ग्रेट लिप फरवार्ड’को उद्देश्य चीनलाई छोटो समयमै औद्योगिक र कृषि शक्ति बनाउनु थियो । तर जनकम्युनहरूको हतारको निर्माण, घर–घरमा फलाम पगाल्ने अवैज्ञानिक प्रयास र अति–महत्वाकांक्षी उत्पादन लक्ष्यका कारण भीषण अनिकाल र आर्थिक संकट उत्पन्न भयो ।
सन् १९६२ को जनवरीमा बेइजिङमा आयोजित प्रसिद्ध ‘७००० क्याडर सम्मेलन’ मा अध्यक्ष माओ त्सेतुङले नेतृत्वको कमजोरी स्वीकार गर्दै ऐतिहासिक आत्मआलोचना गरे ।
माओले भने–‘केन्द्रिय कमिटीले गरेका सबै गल्तीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी ममाथि आउँछ किनभने म केन्द्रिय कमिटीको अध्यक्ष हुँ । हामीले आर्थिक नियमहरूलाई राम्ररी नबुझी निर्णय ग¥यौँ ।
माओले तत्कालै आर्थिक नीति सच्याउने जिम्मेवारी लिउ साओची र देङ सियाओपिङलाई सुम्पिए, जसले गर्दा बजार सुधार र कृषिको पुनरुत्थान सम्भव भयो । यद्यपि पछि सांस्कृतिक क्रान्तिका क्रममा थप राजनीतिक जटिलताहरू आए तर सन् १९६२ को त्यो सम्मेलनले कम्युनिस्ट पार्टीभित्र लोकतान्त्रिक केन्द्रीयता र नेतृत्वको जवाफदेहिताको महत्वपूर्ण नजिर स्थापित गरेको थियो ।
फिडेल क्यास्ट्रो र सन् १९७० को ‘१० मिलियन टन चिनी उत्पादन’ को असफलता
क्युबाली क्रान्तिका सर्वोच्च कमाण्डर फिडेल क्यास्ट्रोले सन् १९७० मा क्युबाको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ‘१० मिलियन टन उखु पेल्ने’ राष्ट्रिय अभियान घोषणा गरे । पूरा देशको शक्ति यसैमा केन्द्रित गरियो । तर अन्ततः ८.५ मिलियन टन मात्र उत्पादन भयो, जसले गर्दा अन्य सबै उद्योग र कृषि क्षेत्र ठप्प हुन पुग्यो ।
सन् १९७० जुलाई २६ को क्रान्ति दिवसको विशाल जनसभामा फिडेल क्यास्ट्रोले हवानाको क्रान्ति चोकमा उभिएर लाखौँ जनतासामु आफ्नो असफलताको ऐतिहासिक भाषण दिए । उनले भने–‘हाम्रा शत्रुहरूले भन्छन् कि यो प्रणाली असफल भयो तर म भन्छु यो प्रणालीको होइन, मेरो नेतृत्वको अक्षमता हो । यदि जनता चाहन्छन् भने म अहिले नै नेतृत्व छोड्न तयार छु ।’
लाखौँ क्युबाली जनताले आँसु पुछ्दै ‘फिडेल, फिडेल’ को नारा लगाएर उनलाई समर्थन गरे । त्यसपछि फिडेलले क्युबाको अर्थतन्त्रलाई केन्द्रिकृत प्रशासनिक मोडलबाट हटाएर मजदुरहरूको युनियनलाई सशक्त बनाउने र योजनाबद्ध समाजवादी व्यवस्थापन लागू गर्ने दिशामा ठोस सुधार गरे । यसले क्युबालाई अमेरिकी नाकाबन्दीका बाबजुद शिक्षा र स्वास्थ्यमा विश्वकै उत्कृष्ट देश बनाउन मद्दत ग¥यो ।
देङ सियाओपिङः ‘तथ्यबाट सत्यको खोजी’ र चिनियाँ विशेषतासहितको समाजवाद
सांस्कृतिक क्रान्तिको दशक लामो अस्तव्यस्ततापछि सन् १९७८ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सम्हालेका देङ सियाओपिङले चीनलाई आधुनिक विश्वको आर्थिक महाशक्ति बनाउने ऐतिहासिक मार्गचित्र कोरे । देङले जडसूत्रवादको कडा आलोचना गर्दै ‘तथ्यबाट सत्यको खोजी गर्ने’ व्यावहारिक दार्शनिक आधार प्रश्तुत गरे ।
देङले स्पष्ट भने–‘बिरालो कालो होस् वा सेतो, यदि त्यसले मुसा समात्छ भने त्यो राम्रो बिरालो हो ।’ उनले माओका योगदानलाई ७० प्रतिशत सही र ३० प्रतिशत त्रुटिपूर्ण भनी वस्तुगत मूल्याङ्कन गरे । विगतका गल्तीहरूबाट पाठ सिकेर ‘सुधार र खुलापन’ को नीति अघि सारे । उत्पादक शक्तिको विकासबिना समाजवाद नारामै सिमित हुन्छ भन्ने यथार्थलाई स्वीकार गर्दै उनले शुरु गरेको सुधारकै कारण आज चीनले ८० करोड जनतालाई गरिबीबाट मुक्त गरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विज्ञान–प्रविधिको नेतृत्वदायी शक्ति बन्न सफल भएको छ ।
गल्ती अस्वीकार गर्दा र नसुधार्दा भएका विनाशकारी पतनहरू
शोभियत संघको विघटन, चाउचेस्कुको पतन र कम्बोडियाको आत्मघाती नरसंहार
विश्वको पहिलो समाजवादी राष्ट्र शोभियत संघको विघटन (१९९१) कम्युनिष्ट आन्दोलनको इतिहासको सबैभन्दा ठूलो दुर्घटना थियो । यसको मुख्य कारण लियोनिड ब्रेझनेभको १८ वर्षे कार्यकालमा मौलाएको ‘नोमेनक्लातुरा’ (विशेषाधिकार प्राप्त नोकरशाह वर्ग) र पार्टीभित्र आलोचना–आत्मआलोचनाको पूर्ण अन्त्य थियो ।
पार्टी नेताहरू विलासी जीवनमा रमाए, अर्थतन्त्रमा आएको मन्दीलाई ढाकछोप गरियो र जनताका गुनासाहरूलाई दमन गरियो । जब मिखाइल गोर्भाचोभले ‘ग्लासनोस्त’ (खुलापन) र ‘पेरेस्त्रोइका’ (पुनर्संरचना) को नाममा सुधार गर्न खोजे तर तबसम्म धेरै ढिला भइसकेको थियो । गल्तीलाई समयमै स्वीकारेर क्रान्तिकारी सर्वहारा विधिबाट नसच्याउँदा अन्ततः ७४ वर्ष पुरानो महाशक्ति सोभियत संघ तासको घरजस्तै ढल्यो ।
रोमानियाका निकोलाई चाउचेस्कुः आत्मप्रशंसाको उन्माद र निर्मम अन्त्य
रोमानियाका कम्युनिष्ट राष्ट्रपति निकोलाई चाउचेस्कुले आफूलाई ‘कार्पाथियन पर्वतको प्रतिभा’ र ‘अचुक नेता’ घोषणा गरेका थिए । उनले पार्टीभित्र आफ्नै परिवारका सदस्यहरूलाई भर्ती गरे, जनता भोकभोकै मर्दा आफू भने विशाल दरबार निर्माणमा लागे र कुनैपनि आलोचना सुन्न अस्वीकार गरे ।
सन् १९८९ को डिसेम्बरमा जब जनता सडकमा ओर्लिए, उनले आफ्नै जनतामाथि गोली चलाउने आदेश दिए । अन्ततः उनकै सेना र जनताले उनलाई पक्राउ गरी सैन्य अदालतबाट मृत्युदण्ड दिए । यो घटनाले के प्रमाणित गर्छ भने– जब कुनै कम्युनिस्ट नेताले आफूलाई सर्वज्ञानी र गल्तीभन्दा माथि ठान्छ, उसको अन्त्य यस्तै लज्जास्पद हुन्छ ।
कम्बोडियामा पोलपोट र खमेर रुजको अतिवादी पागलपन
कम्बोडियामा खमेर रुजका नेता पोलपोटले ‘वर्ष शुन्य’ को नाममा समाजलाई रातारात जबरजस्ती आदिम साम्यवादमा लैजाने अतिवादी र अमानवीय प्रयोग गरे । शहरका सबै मानिसहरूलाई गाउँ धपाइयो, डाक्टर, इन्जिनियर, शिक्षक र चस्मा लगाउने जो–कोहीलाई ‘बुर्जुवा’ भन्दै लाखौँको संख्यामा हत्या गरियो ।
पोलपोटले आफ्ना गल्तीहरू औँल्याउने आफ्नै सहयोद्धा कमरेडहरूलाई ‘गद्दार’ भन्दै मृत्युदण्ड दिए । सन् १९७५ देखि १९७९ सम्म करिव २० लाख निर्दोष जनताको ज्यान लिने यो आत्मघाती नरसंहारले कम्बोडियाको कम्युनिष्ट आन्दोलनलाई सधैँका लागि कलंकित बनाइदियो । यो गल्ती अस्वीकार गर्ने र जडसूत्रवादी उन्मादमा लाग्ने अतिवादको सबैभन्दा विभत्स उदाहरण हो ।
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट, विसङ्गति र रूपान्तरणका अनिवार्य शर्तहरू
संसदीय भास र मन्त्री पदको अम्मलः रोगको मुख्य जड
नेपाली कम्युनिष्ट आन्दोलन आज जसरी रक्षात्मक, दिशाहीन र जनताबाट तिरस्कृत बन्दै गइरहेको छ । त्यसको मूल कारण कुनै वाह्य षड्यन्त्र होइ, त्यो पार्टी नेतृत्वभित्र गडेको ‘संसदीय भास’ र सत्ताको लत हो । लेलिनले ‘राज्य र क्रान्ति’ मा औँल्याउनुभएको अवसरवाद आज नेपालका सबै कम्युनिस्ट पार्टीहरूको मूल चरित्र बनेको छ ।
संसदीय गणित मिलाउनका लागि राजावादी, मधेसवादी, दलाल पुँजीवादी र विदेशी शक्तिकेन्द्रहरूसँग जे–जस्तो सम्झौता गर्न पनि तयार हुने प्रवृत्तिले कम्युनिस्ट नैतिकताको घाँटी निमोठेको छ । मन्त्री बन्नु, बजेट कुम्ल्याउनु, आफ्ना नातेदार र आसेपासेलाई नियुक्ति दिनु र चुनाव जित्नका लागि करोडौँ कालोधन खर्च गर्नु नै आजका ‘कम्युनिस्ट’ नेताहरूको दैनिकी बनेको छ । यस्तो अवस्थामा मञ्चमा उभिएर ‘वर्ग संघर्ष र सर्वहारा क्रान्ति’ का कुरा गर्नु भनेको जनताको आँखामा छारो हाल्नुबाहेक केही होइन ।
दलाल पुँजीवाद र विचौलिया वर्गसँग नेतृत्वको अपवित्र गठबन्धन
माक्र्सवादले समाजको आधार आर्थिक उत्पादन सम्बन्धलाई मान्छ । आज नेपालका प्रमुख कम्युनिस्ट नेताहरूको आर्थिक सम्बन्ध कोसँग छ ? के उनीहरू मजदुर, सुकुम्बासी, गरिब किसान र दैनिक ज्यालादारी गर्ने जनतासँग जोडिएका छन् ? कदापि छैनन् ।
आज नेताहरू मेडिकल माफिया, ठेकेदार, घरजग्गा दलाल, क्यासिनो सञ्चालक र विदेशी वित्तीय पुँजीका एजेन्टहरूको घरमा बास बस्छन् । पार्टीको नीति दलालहरूले बनाउँछन्, चुनावको टिकट पैसाको थैली हेरेर बाँडिन्छ र सरकारमा हुँदा तिनै विचौलियाहरूको हित हुनेगरी कानून र करका दरहरू हेरफेर गरिन्छ । यो स्थितिमा कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता नरहेर दलाल पुँजीपति वर्गको प्रवन्धकमा रूपान्तरित भएको छ ।
यदि नेपाली कम्युनिष्ट आन्दोलनलाई साँच्चिकै पुनर्गठित र क्रान्तिकारी बनाउने हो भने केवल गल्ती स्वीकारेर पुग्दैन । कम्तिमा एक दशकसम्म सत्ताको अस्वस्थ खेलबाट अलग रहेर पार्टीलाई सडक, संगठन र उत्पादनसँग जोड्ने संकल्प गर्नुपर्छ । शान्ति प्रक्रियापछि नेतृत्व तहले आर्जन गरेको अकुत सम्पतीको निष्पक्ष छानबिन गरी पार्टी र राज्यलाई हस्तान्तरण गर्नुपर्छ । गुटबन्दी, आसेपासेवाद र परिवारवादको अन्त्य गरी योग्यता, निष्ठा र जनताको सेवाका आधारमा नेतृत्व चयन गर्ने लोकतान्त्रिक केन्द्रियताको अभ्यास गर्नुपर्छ । केवल राजनीतिलाई पेशा बनाउने परजीवी संस्कृतिको अन्त्य गरी हरेक नेता–कार्यकर्ताले अनिवार्य रूपमा श्रम र उत्पादनमा जोडिनुपर्ने नियम बनाउनुपर्छ । २१ औँ शताब्दीको दलाल वित्तीय पुँजीवाद, डिजिटल साम्राज्यवाद र नेपालको विशिष्ट भौगोलिक–सामाजिक अवस्थालाई सम्बोधन गर्ने मौलिक समाजवादी कार्यदिशाको निर्माण गर्नुपर्छ ।
कम्युनिष्ट आन्दोलनले भन्दैन गल्ती स्वीकार तर नसुधार
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीको मञ्चबाट गरेको भाषण यदि केवल अर्को सरकार ढाल्ने र नयाँ सरकार बनाउने कार्ड मात्र हो भने नेपाली जनताले अब उनलाई कुनै छुट दिने छैनन् । इतिहासले कुनैपनि नेतालाई उसका शब्दहरूको सुन्दरता हेरेर होइन, उसका कर्महरूको प्रभाव हेरेर मूल्याङ्कन गर्दछ । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीको करिव दुई तिहाई नजिकको सरकार ढाल्न सहज छैन । पार्टीको आन्तरिक कोलाहल बिना त्यो सम्भव देखिँदैन । तर नेकपा कालमा पनि दुई तिहाईको सरकार हुँदा नढलेको भने होइन । त्यसैले असम्भव केही छैन ।
दश वर्षको जनयुद्धमा १७ हजार नेपाली जनताले बलिदान दिए, हजारौँ घाइते र बेपत्ता भए, लाखौँ आमाहरूको काख रित्तियो । त्यो रगत कुनै नेतालाई प्रधानमन्त्रीको कुर्सीमा चार पटक बसाउन वा उनका परिवारका सदस्यहरूलाई सत्ताको मोजमज्जा गराउन बगेको थिएन । त्यो बलिदान नेपाली समाजको युगौँ पुरानो सामन्ती र दलाल संरचना भत्काएर नयाँ, समतामूलक, समृद्ध र स्वाधीन नेपाल निर्माणका लागि थियो ।
कम्युनिष्ट आन्दोलनको सत्यः सिद्धान्त र व्यवहारको एकात्मता
कम्युनिष्ट सिद्धान्तले कहिल्यै पनि भन्दैन कि ‘तिमी पटक–पटक गल्ती गर, त्यसलाई भाषणमा स्वीकार गर तर व्यवहारमा उही गल्ती निरन्तर दोहो¥याइ रह ।’ यो कम्युनिस्ट संस्कृति होइन, यो राजनीतिक बेइमानी र पाखण्ड हो ।
द्वन्द्वात्मक भौतिकवादले सिकाएको आलोचना र आत्मआलोचनाको अस्त्र त्यो हो जसले मानिसलाई भित्रैदेखि पखाल्छ, उसका स्वार्थहरूलाई खरानी बनाउँछ र उसलाई फेरि नयाँ मानिस बनाएर जनताको सेवामा होम्छ । हो चि मिन्ह, लेलिन र देङ सियाओपिङले देखाएको बाटो यही थियो ।
आजको आवश्यकता पुरानै नेताहरूको अनुहार फेरेर बन्ने अर्को कुनै निर्लज्ज गठबन्धन होइन । आजको आवश्यकता त सिद्धान्तप्रति निष्ठावान, श्रमजीवी वर्गप्रति समर्पित, नैतिक रूपमा स्वच्छ र विचारमा स्पष्ट नयाँ पुस्ताको क्रान्तिकारी ध्रुविकरण हो । नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउने हो भने गल्ती स्वीकार्ने नाटक बन्द गर्नुपर्छ र आफैँबाट आमूल रूपान्तरण शुरु गर्नुपर्छ । अन्यथा, इतिहासको निर्मम नियमले अवसरवादीहरूलाई फोहोरको डंगुरमा मिल्काइदिनेछ र क्रान्तिको नयाँ मसाल श्रमजीवी जनताकै हातबाट पुनः प्रज्वलित हुनेछ ।
गल्ती स्वीकार्ने भाषणबाजी बन्द गरेर व्यवहारमै क्रान्तिकारी रूपान्तरण नगरे नेपाली कम्युनिस्ट आन्दोलन इतिहासको संग्रहालयमा सिमित हुनेछ ।




