काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताउनुभएको छ ।
आईतवार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले ताइवानको बारेमा नेपालको शुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको बताउनु भयो । उहाँले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको शुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको शुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।’ प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पार्नुभयो ।