काठमाडौं, मंसिर ६ ||
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धि रक्षाका लागि सबैलाई एक हुन आग्रह गर्नुभएको छ । बुधवार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्नेमा जोड दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने उहाँको दाबी थियो । यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले पराजित भएपछि सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको टिप्पणी गर्नुभयो । गणतन्त्र उल्टाउने दुस्प्रयास गर्नेहरूले पुनः अर्को मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले चेतावनी दिनुभयो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताउनुभएको छ । २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरुले बिर्सन नहुने उहाँको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानलाई सुरक्षित राख्दै यसको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गर्नुपर्ने नेता सिंहले बताउनुभयो । ०००




