प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिउडको बोको बनाउन पाइँदैनः सचेतक मेचे | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिउडको बोको बनाउन पाइँदैनः सचेतक मेचे

काठमाडौँ ।

राष्ट्रिय सभामा नेकपा (एमाले) की सचेतक रोशनी मेचेले प्रशासनिक बोझ संघीय सरकारमै रहेकाले प्रदेशलाई मात्र बलिउडको बोको बनाउन नहुने बताउनुभएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कार्यशैली, देशको वर्तमान वित्तीय अवस्था र सुशासनको खस्कँदो अवस्थाप्रति ध्यानाकर्षण गराउनु भयो । उहाँले संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दाबी गर्नुभयो । सचेतक मेचेले पछिल्लो समय प्रदेश संरचना महँगो भएको भन्दै यसलाई खारेज गर्ने तर्क सस्तो लोकप्रियतावादका लागि फैलाइएको टिप्पणी गर्नुभयो ।

विगत ३५ वर्षमा देशमा केही उपलब्धि नभएको भन्ने नकारात्मक भाष्यको खण्डन गर्दै मेचेले २०४६ सालयता साक्षरता दर ३९ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको र नेपालीको औसत आयु ५४ वर्षबाट ७१ वर्ष पुगेको तथ्य पेस गर्नुभयो । मातृ मृत्युदर र बाल मृत्युदर न्युनिकरणमा नेपालले हासिल गरेको प्रगति विश्वमै उदाहरणीय रहेको उहाँले बताउनु भयो ।  वर्तमान सरकारको असफलताका कारण ती ऐतिहासिक उपलब्धिहरू ओझेलमा परेको र युवाहरूमा चरम निराशा छाएको उहाँको तर्क छ । रोजगारीको अभावमा युवाहरू आत्मदाह गर्न बाध्य हुनुलाई उहाँले सरकारको चरम असफलताको रूपमा चित्रण गर्नुभयो । सचेतक मेचेले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोमा सरकारको आलोचना गर्नुभयो ।

Leave a Reply