सर्लाही, १८ असोज ||
सर्लाहीको भारतीय सिमावर्ती बजारहरुको अनुगमन नहुँदा कालोबजारी बढ्न थालेको छ । चाडपर्व नजिकिएसंगै जिल्लाको भारतीय सिमावर्ती बजारहरुमा कालोबजारी बढ्न थालेको उपभोक्ताहरुको गुनासो छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा हुनुपर्ने अनुगमन सिमावर्ती बजार सहित जिल्लाको पश्चिम र दक्षिणी भु–भागमा अवस्थित स्थानीय बजारहरुमा कहिल्यै नपुगेपछी व्यापारीहरुबाट उपभोक्ताहरु नियमित ठगिदै आएका छन । अनुगमन नहुँदा र अनुमति बिना संचालनमा रहेको पसलहरुका कारण कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको पाईएको छ । स्थानीय बजार बलरा, हथियौल, नरहरगन्ज, गडहिया–डुमरिया, खैर्वा, सिसौट र गोडैता बजारमा अनुमति बिना लाखौको कारोवारमा संचालित व्यवसायहरु छन ।
कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्री वितरण बढ्दो भएपनि सम्बन्धित निकायले बजार अनुगमनमा चासो नदेखाएको गुनासो उपभोक्ताको छ । उपभोक्ताहरूको खाद्य अधिकार सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने बलरा–३ का चन्देश्वर झाले बताए ।
यता जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी होम प्रसाद घिमिरेले भने जिल्ला प्रशासन कार्यालय सर्लाहिले केही दिनमै बजार अनुगमन शुरु गर्ने तयारी गरेको बताएका छन् ।
बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारबारे जागरुक गराउँछ भने व्यापारीलाई पनि मिति हेरेर सामान बेच्न प्रेरित गर्ने गर्दछ । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने समेत विश्वास गरिन्छ ।




