काठमाडौं , १६ असोज ||
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने बताईएको छ ।
कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ । कात्तिक ५ गते आइतबार महाअष्टमी र त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०ः३७ बजे विसर्जन गर्ने साइत रहेको छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।
यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।




