बिहान १०ः१९ बजे दशैँको टीकाको साइत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिहान १०ः१९ बजे दशैँको टीकाको साइत


काठमाडौं, १५ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । कात्तिक १० गते सोमबार विजयादशमीकाे टीका लगाउनेका लागि बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिले जानकारी दिएको छ ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।

कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ ।

कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);