वैदेशिक रोजगारीमा जाने महिला घटे: यस्ता छन् तीन कारण | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

काठमाडौँ, ६ मंसिर । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२र७३ मा भन्दा साढे दुई लाखले बढेको थियो।

तर रोजगारीकै लागि जाने महिला कामदारको संख्या बढे पनि वृद्धिदर भने घटेको छ। चालू आवको तीन महिनामा पनि रोजगारीका लागि बिदेसिने महिला कामदार संख्यामा वृद्धि आउन सकेको छैन। गत आवमा कुल ६ लाख ५३ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका थिए। यसमा महिला कामदारको संख्या २७ हजार आठ सय मात्रै थियो।

रोजगारीका लागि गत अवमा बिदेसिएका कुल संख्यामध्ये महिला कामदारको हिस्सा ४.२६ प्रतिशत छ। साथै चालू आवको पहिलो तीन महिनामै एक लाख ४२ हजार पाँच सय ९४ युवा विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्। यसमा ६ हजार ५४ जना मात्रै महिला कामदार छन्। तीन महिनामा रोजगारीका लागि बिदेसिएका कुल कामदार संख्याको ४।२४ प्रतिशत मात्रै महिला छन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट

महिला कामदार किन घटे ?

– सरकारले घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध नै महिला कामदार घटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्।

– घरेलुबाहेक अन्य कामका लागि विदेश जाने महिला कामदारका लागि दूतावासबाट प्रमाणीकरण लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि संख्यामा कमी आएको उनको भनाइ छ।

– घरेलु कामका लागि विदेश गई नेपाल फर्केका महिला कामदारले पुनः विदेश जान श्रम स्वीकृति नपाउँदासमेत संख्यामा कमी आएको हो।

ताजा समाचार