शौच गर्न र पानी पिउन विद्यार्थी जंगल जानुपर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

शौच गर्न र पानी पिउन विद्यार्थी जंगल जानुपर्ने

सुर्खेत । नेपालमा उच्च ओहदाका मानिसहरू हेलिकप्टरबाट झर्दा रातो कार्पेट  ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीहरूका लागि एउटा कार्पेटसम्म हुँदैन, त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयको ।

सोही विद्यालयमा बराहताल इखेनीकी ६ वर्षीया हस्तना विक श्री जनजागरण प्राथमिक विद्यालय कक्षा १ मा पढ्छिन् । उनको साथमा नत झोला छ, नत न्यानो कपडा नै थिए । चिसोले कापिरहेकी थिइन् । 

त्यस्तै सोही ठाउँकै अर्का लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरू दुई जना एक प्रतिनिधि पात्र मात्र हुन् । सोही विद्यालयमा अध्यनरत १०४ जना विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै छ । 

भेरीको छेउमै रहेको यो विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ताचप्पल समेत छैनन् । २०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो ।  भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो ।

यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाएपनि विद्यालयको खानेपानी समस्या भने ज्यूँकात्यूँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्वल कामी बताउँछन् । 

शिक्षक अपुग 

श्री जनजागरण प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । त्यसपछि थप अध्ययनको लागि चेपाङ पुग्छन् । कक्षा ५ सम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् । 

२०६५ सालमा स्थापना भएको श्री जनजागरण प्राथमिक विद्यालयमा दुई जना शिक्षकको दरबन्दी छ । एक पद रिक्त रहेको छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एक जना दरबन्दी, एक जना स्थानीय स्रोत, एक जना राहत, एक जना करारसहित पाँच जना मात्र शिक्षक छन् । विद्यालयमा शिक्षक अपुग मात्र नभएर खानेपानी र शौचालयसम्मको अभाव छ ।

शौचालय र पानीको अभावले विद्यार्थीहरू जंगलतिर

विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने बाध्यता छ । विद्यालयका भवन पनि जीर्ण छन् । शौचालय पनि जीर्ण हुँदा विद्यार्थीहरू शौचालय नगएर जंगलतिर दुगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँछन् । विद्यालयमा शौचालय र पानी नै हुँदैन,’ उनले भने, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जस्का कारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’

चार वर्ष पुरानो च्यातिएका कार्पेटमा बस्छन् विद्यार्थी 

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्त रुपमा भौतिक पूर्वाधारको सामग्रीबाट बञ्चित छ । पर्याप्त रुपमा बस्ने डेस्क बेन्चहरू छैनन् । विद्यार्थीहरू चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजाली बताउँछन् । 

विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्,’उनले भने, ‘बेन्ज डेस्क किनेर कसरी राख्नु । हाम्रा नेताज्युका कानमा कोले सुनाइदेला ‘तपाईलाई हेलिकप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता देशको भविष्य पढ्नेबेला ओछ्उने कार्पेट नपाएर चिसो ठाउँमा बसेर पढ्छन् ।’
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);