उपमेयर कप : एक क्लबले चार विभागीय खेलाडी लिन पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

उपमेयर कप : एक क्लबले चार विभागीय खेलाडी लिन पाउने

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबसहित विभागीय टोलीलाई सिधै प्रवेश दिँदा उपमेयर कपमा एक क्लबले विभागीय टोलीका चार खेलाडीसमेत राख्न पाउने प्रावधान बनाएको छ । 

एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग-२०७८ का लागि पहिलो संस्करणमा मोफसलका र विभागीय गरी ६ क्लबलाई सिधै प्रवेश दिँदै आगामी उपमेयर लिगमा सहभागी क्लबले विभागीय टोलीका चार खेलाडीले एक क्लबबाट खेलाउन पाउने नियम ल्याएको हो ।  

उपमेयर कप-२०७८ राष्ट्रिय महिला लिग प्रतियोगिता नियमावलीमा विभागीय तीन र मोफसलका तीन गरी ६ क्लबले सधै राष्ट्रिय लिगमा सहभागी पाउने बताइएको छ । यस्तै उपमेयर कपमा सहभागी क्लबले चार विभागीय खेलाडीसमेत राख्न पाउने नियम बनाइएको छ ।  

एन्फाले आयोजना गर्ने ‘उपमेयर कप २०७८ राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता’ ४ कात्तिकबाट सुरु हुँदैछ । राष्ट्रिय लिगको मिति भने तय गरिएको छैन । 

एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको हो । 

गत वर्ष राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढी नगरपालिका उदयपुरले भने यसपटक सहभागी भए छनोट खेल खेल्नुपर्ने हुन्छ । चौदण्डीगढी गत लिगमा १२ खेल खेल्दा अंकविहीन भएको थियो । चौदण्डीगढीले महिला लिगमा चार गोल गर्दा १०६ गोल ब्यहोरेको थियो । 

प्रतियोगिता नियमावलीको परिक्षेद नम्बर २ को नियम (६) अन्तर्गत खेलाडी दर्ताको ५ नम्बर बुँदामा भनिएको छ । 

‘टिमहरूले यस प्रतियोगतामा बढीमा चारजनासम्म विभागका खेलाडीहरू दर्ता गराई खेलाउन पाउने छन् । उक्त खेलाडीहरू दर्ता गर्दा विभागसँग आवश्यक स्वीकृति लिई खेलाडीसँग करार भएको हुनुपर्नेछ र सो कागजातहरू दर्ता फारामसँगै पेस गर्नुपर्नेछ ।’ 

यस्तै, नियमावलीमा छनोट भएका दुई टिमका खेलाडीले राष्ट्रिय लिगमा सोही क्लबबाट खेल्नुपर्ने र विभागबाट आएका खेलाडीको हकमा भने विभागीय खेलाडी क्लबमा फर्कन पाउने बताएको छ । 

‘यस प्रतियोगिताबाट छनोट भएका दुई टिममा दर्ता भएका खेलाडीहरू राष्ट्रिय महिला लिग २०७८ मा पनि सो टिमहरूमा यथावत् हुनुपर्नेछ । छनोट भएका टिममा दर्ता भएका विभागीय खेलाडीहरू भने विभागसँग स्वीकृति भएबमोजिम सो टिमबाट सहभागी हुन सक्ने वा पुनः विभागबाट सहभागी हुन सक्नेछन् । साथै राष्ट्रिय महिला लिगमा नियमावलीअनुसार थप खेलाडी दर्ता गर्न पाइनेछ,’  नियमावलीमा भनिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);