एजेन्सी । बर्षको अन्तिम ग्राण्डस्लाम टेनिस युएस ओपनको महिला एकल उपाधिका लागि २ किशोरीबीच प्रतिस्पर्धा हुने भएको छ । अमेरिकाको न्युयोर्कमा जारी युएस ओपन टेनिसको महिला एकलमा उपाधिका लागि १९ बर्षिया क्यानडाकी लेला फर्नान्डेज र १८ बर्षीया बेलायती खेलाडी एम्मा राडुकानुबीचको भिडन्त पक्का भएको हो ।
शुक्रबार भएको सेमिफाइनलमा ग्रीसकी मारिया सक्कारीलाई पराजित गर्दै राडुकानु फाइनलमा पुगेकी हुन् । राडुकानुले सक्कारीलाई ६–१ र ६–४ को सेटमा हराईन् । यसैगरी फर्नान्डेजले दोस्रो बरियताकी बेलारुसी आर्यना सबालेन्कालाई ७–६ ४–६ र ६–४ को सेटमा पराजित गरिन् ।
दुवै खेलाडी पहिलो पटक युएस ओपनको फाइनलमा पुगेका हुन् । ७३ औँ बरियताकी फेर्नान्डेजले यहि प्रतियोगितामा साबिक विजेता नाओमी ओशाका र पाँचौँ बरियताकी एलिना स्भितोलिनालाई हराइ सकेकी छन् । यसैगरी छनौट चरणबाट आएर ग्राण्डस्लामको फाइनलमा पुग्ने रादुकानु पहिलो खेलाडी भएकी छन् ।




