एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ ।
तालिबानले सीमापारीको व्यापार बन्द गर्नेक्रममा भारतसँगको व्यापार पनि बन्द गरेको हो । भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरू पाकिस्तान हुँदै आवतजावत गर्दै आएका थिए ।
त्यसैगरी तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगीको रुपमा रहदै आएको छ । उता चीनले भने अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने जनाइएको छ ।