काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
मंगलबार बालुवाटारमा बसको मन्त्रिपरिषद्रको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गण्डकी प्रदेशमा सीता कुमारी पौडेल प्रदेश प्रमुख थिइन् भने लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख थिए ।
नेकपा विभाजन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो । हाल देउवा नेतृत्वको सरकारले भने पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गरेको हो ।
नेपालको संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एउटै प्रदेशमा एक पटकभन्दा बढी प्रदेश प्रमुख बन्न नमिल्ने प्रावधान रहेको छ । जसअनुसार अमिक शेरचनलाई गण्डकीमा प्रमुख बनाउन नमिलेपछि लुम्बिनीमा पठाइएको हो । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरिएको हो ।