काठमाडाैँ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
माओवादीले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो । एमाले जाँदा पद गुमाउनेमा दुई जना मेयर, पाँच जना उपमेयरसहित गाउँपालिका प्रमुख उप–प्रमुख, वडा अध्यक्षदेखि नगर कार्यपालिका सदस्यहरु रहेका छन् ।
आयोगको सूचना अनुसार रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई कारबाही गर्दै उनीहरुको पद रिक्त भएको छ । त्यसैगरी रौतहटकै देवाही गोनाही नगरपालिका, मैलापुर नगरपालिका, फतुवाविजयपुर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिकाका उपप्रमुखहरु क्रमशःपरिनिया देवी, गोरीशंकरप्रसाद जयसवाल, कान्ति देवी, सिमल साह, गितादेवी साहलाई पनि पदबाट मुक्त गरिएको छ ।
लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, चम्पादेवी गाउँपालिका–१ ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा, सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक, भजनी नगरपालिका कैलालीका उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका–४ कैलालीका वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका– १ कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ कैलालीका वडाध्यक्ष पुरन वि.सी पनि कारबाहीमा परेका छन् ।





