एजेन्सी । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी भएका छन् । तीन प्रतिस्पर्धीलाई हराउँदै रइसी इरानको १३ औं राष्ट्रपति बनेका हुन् । उनले ६२ प्रतिशत मत प्राप्त गरे ।
रइसीले आउँदो अगस्ट महिनाको सुरुवातमा शपथ लिने बताइएको छ । इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ ।
सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए । राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न रइसी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको व्यक्तिसमेत हुन् ।
रइसीको नेतृत्वमा इरानमा सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रणसहित कट्टरपन्थी इस्लामिक सरकार गठन गर्ने कोसिस हुने ठानिएको छ ।




