नेकपाको विवाद अहिले मुठभेडउन्मुख भएको छ । बुधबार सरकारले संवैधानिक निकायका पदाधिकारीहरुलाई सपथ खुवाएसँगै नेकपा दाहाल–नेपाल पक्ष आक्रामक रुपमा प्रस्तुत भएको हो । यसअघि आन्दोलनका कार्यक्रम घोषणा गरेको दाहाल–नेपाल पक्षले सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै बिहीबार नयाँ कार्यक्रमको रुपमा आम हड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारविरुद्ध शाकाहारी आन्दोलन नगरिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले यसअघि बताइसकेका छन् । आगामी माघ २३ गते प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पक्षले बृहत जनसभा गर्ने घोषणा गरेको र त्यसको तयारी स्वरुप कार्यक्रमहरु गर्दै आएको छ । करिब २० दिनअघि देखि घोषित कार्यक्रमको एक दिनअघि दाहाल–नेपाल पक्षको हड्ताल घोषणाले देश अहिले गम्भीर मुठभेडतर्फ गैरहेको स्पष्ट भएको छ ।
लामो समयदेखि रिक्त रहेको संवैधानिक निकायका पदाधिकारी सरकारले मंसिर ३० गते नियुक्ति गर्ने निर्णय गरेको थियो । तर प्रतिनिधि सभा विघटन भैसकेकाले पदाधिकारीहरुको संसदीय सुनुवाई हुने स्थिति रहेन । पदाधिकारी नियुक्त भएको ४५ दिन पुगेसँगै बुधबार सबैधानिक निकायका पदाधिकारीको सपथ भएको हो । ती पदाधिकारीको संवैधानिक सुनुवाई सम्भव नभएकाले सपथ खुवाउने तयारी यसअघि नै भैसकेको थियो ।
तर दाहाल–नेपाल पक्षले घोषणा गरेको आम हड्तालको कार्यक्रमको कारण दुई पक्षबीच टकरावको स्थिति बनेको देखिन्छ । बुधबार आम हड्ताल घोषणा गरेका नेताहरुले कुनै बेला सार्वजनिक रुपमा नै भनेका थिए‘ अब राजनीतिक लडाई सकियो, अब आर्थिक समृद्धितर्फ मुलुक अगाडि बढ्छ । तर मुलुकको अहिलेको अवस्था त्यस्तो देखिँँदैन । सत्ताकेन्द्रित पार्टीको आन्तरिक विवादबाट श्रृजना भएको परिस्थितीको सिकार भने अन्ततः नेपाली जनता नै हुने निश्चित छ ।
हरेकपटक राजनीतिक दलले जनतालाई सडकमा उभ्याउन अनेक नारा र एजेण्डा दिने गरेका छन् । पंचायत बिरोधी आन्दोलनमा जनता सडकमा उत्रिए, कहिले जनयुद्धको भन्दै भएको द्वन्द्वमा जनता सडकमा पसे, कहिले राजाको शासन विरुद्ध भन्दै गोलबद्ध भए, तर ती सबै राजनीति गर्नेको सत्तामा चढ्ने भ¥याङ भन्दा बढी कहिल्यै हुन सकेन ।
यसअघि माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि भएको संविधान सभाको चुनावमा ठूलो पार्टी उसैलाई बनाई दिए । तर उसले ठुलो पार्टीको भूमिका निर्वाह गर्न सकेन । संविधानसभामा अनेक मुठभेडको अवस्था उत्पन्न भयो । दोस्रो संविधानसभाको निर्वाचन भएपछि त्यसले संविधान जारी ग¥यो । संविधान जारी गरेपछि नेताहरुले सार्बजनिक प्रतिबद्धता जाहेर गरे, अब राजनीति लडाई सकियो ।
नयाँं संविधान अनुसार आम चुनाव हुँदा नेकपालाई दुई तिहाईको नजिक जनताले भोट दिए । तत्कालीन माओवादी केन्द्र र एमाले एकीकरण भएर नेकपा बनेपछि जनतामा देशमा स्थिरताको आशा पलाएका थियो । नयाँं सरकार बनेपछि देशमा हड्ताल, चक्का जाम जस्ता कुरा देखा परेका थिएनन् । यसबाट आजित बनेका जनताले केही समय सन्तोषको स्वास फेरेका थिए ।
तर फेरि अहिले मुलुकमा बन्द र विरोधको नाममा टायर बाल्दै राजनैतिक शक्ति प्रदर्शन गर्ने प्रवृत्ति सुरु हुने देखिएको छ । तर अहिलेको यो विरोध एक दिनको बन्द वा हड्तालम सिमित नहुने विश्लेषण भैरहेको छ । किनभने बिहीबारको हड्ताललाई उग्र बनाई शुक्रबार प्रधानमन्त्री ओली पक्षको कार्यक्रम विथोल्ने प्रयास हुनसक्ने आँकलन समेत भैरहेको छ ।
यतिबेला दुई पक्षमा विभक्त भएको नेकपा शक्ति प्रदर्शनको होडबाजीमा लागिरहेको छ । यस्तो बेलामा दुई पक्ष हुनसक्ने सम्भावित मुठभेड र यसको परिणामबारे सचेत रहेको देखिएको छैन । ती मुठभेड र त्यसका असरको जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत अहिले पेचिलो बनेको छ । तर जवाफ कतैबाट आउन सकेको छैन । मुलुकमा लामो समयसम्म चलको आन्तरिक द्वन्द्व र पट्यार लाग्दोगरी लम्बिएको संविधान निर्माणकालको अन्त्यपछि विकासतिर लम्किने अवसर पाएको मुलुकलाई फेरि राजनीतिक लडाईंको मैदान बनाउने अवस्थाले फेरि जनतामा निराशा आउने पक्का छ ।
कोरोना महामारीका कारण थिलथिलो अवस्थामा रहेको मुलुकमा यसरी विकसित नयाँ परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिने जिम्मेवारी राजनीतिक दलहरुमा छ । सडकमा शक्ति देखाउने होडबाजीले अल्पकालमा फाइदा भएपनि मुलुकलाई गम्भीर द्वन्द्वतर्फ लाने भएकाले यसतर्फ बेलैमा सजग हुने हो कि ?