एजेन्सी, २७ मंसिर । इंग्लीस प्रिमीयर लिग फुटबल इपिएलमा आज म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोडमा डर्बी भिडन्तमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । इपिएलका २ बलिया क्लब म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटिबीचको खेल नेपाली समयअनुसार राति सवा ११ बजे सुरु हुनेछ ।
जर्मनीको आरबी लेइपजीगसँग ३–२ ले पराजित भएपछि च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको युनाइटेडका लागि यो खेल प्रतिष्ठाको विषय बनेको छ । पछिल्ला चार प्रिमियर लिग खेल जितेको म्यान्चेस्टर युनाइटेड त्यो सफलता कायम राख्ने दाउमा छ । सिटीलाई हराउन सकेको खण्डमा युनाइटेड चौथो स्थानमा उक्लनेछ, उसले शीर्ष स्थानको टोट्टेनह्यामसँगको अंकदूरी २ अंकमा झार्नेछ ।
यस सिजन प्रिमियर लिगमा निकै कडा प्रतिस्पर्धा देखिएको छ । ११ खेलबाट २४ अंकसहित टोटनह्याम पहिलो स्थानमा छ भने, समान अंकसहित लिभरपुल दोस्रो, २२ अंकसहित चेल्सी तेस्रो,२१ अंकसहित लेस्टर सिटी चौथो, १२ खेलबाट २० अंकसहित वेस्टह्याम पाँचौ, ११ खेलबाट २० अंकसहित साउथह्याम्पटन छैटौं स्थानमा छन् ।
सातौं स्थानमा रहेको युनाइटेडको १० खेलबाट १९ र आठौँ स्थानको सिटीको १० खेलबाट १८ अंक छ । युनाइटेडविरुद्ध विजयी भएमा २१ अंक बटुलेर गोलअन्तरमा लेस्टरलाई पछि पार्दै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लनेछ ।