काठमाडाैं, १८ मंसिर । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीचको सम्बन्ध सुध्रदैं गएको बताउनुभएको छ । बिहीबार स्थानीय सञ्चार माध्यमसँग प्रकाशित अन्तर्वार्तामा भारतीय विदेशमन्त्रीले नेपालसँगको सम्बन्धबारे उल्लेख गर्नुभएको हो ।
नेपाल–भारतबीच पछिल्ला दिनमा समझदारी विकास हुँदै गएको दावी गर्नुभएको उहाँले अबका दिनमा सम्बन्ध थप सुधार हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल–भारतबीच सीमा समस्या सुरु भएसँगै विवाद बढेपनि पछिल्ला दिनमा भारतका तर्फबाट भएको दुई उच्चस्तरीय भ्रमणले संवादको ढोका पुनः खोलेको छ ।
यस्तै दुई देशबीचको संयुक्त आयोग बैठकको मिति समेत तोकिइसकेको छ । यही परिप्रेक्ष्यलाई जोडेर दुई देशको सम्बन्ध सुधारको दिशा अघि बढेको भारतीय विदेशमन्त्रीले बताउनुभएको हो ।
उहाँले छिमेकीसँगको सम्बन्धमा समस्या आउनुलाई सामान्य भन्दै छिमेकी राष्ट्रसँग समस्या नभएको देश नै नभएको ठोकुवा समेत गर्नुभएको अन्तर्वार्तामा उल्लेख छ ।