एजेन्सी, १३ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ ।
आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित ७९ रन बनाए । यस्तै इशान किसनले २५, क्विनटन डी ककले १८, हार्दिक पाण्डयले १७ र कुर्नाल पाण्डयले १० रन बनाए । बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोस फिलिपले ३३, एबी डी भिलियर्सले १५, गुर्किरात सिंहले अविजित १४, वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे भने कप्तान विराट कोहली ९ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३, राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १/१ विकेट लिए ।
जितसँगै १२ खेलमा १६ अंक जोड्दै मुम्बई तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।




