सर्मिला गुरुङ, काठमाडौँ, ११ असोज । प्रविधिको विकाससँगै बालबालिकाहरु कम्प्युटर, ट्याब र भिडियो गेममा भुल्न थालेका छन् । जसका कारण दशैंका बेला पिङ खेल्ने, चंगा उडाउने चलन विगत बन्दै गएका छन् । लिंगे पिङ खेलेको र चंगा उडाएको दृश्य अनौठो लाग्ने अवस्थामा पुग्दै छ ।
विगतमा दशैं आउन एक–दुई महिनाअघि देखि चंगाले भरिभराउ हुने आकाशमा यतिबेला दसैंले छोपिसक्दा पनि छिटपुट मात्र चंगा देखिन्छन् । युवाहरु भने सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब अनि भिडियो गेममा झुम्मिएको देखिन्छन् ।
ललितपुरको झम्सीखेलमा चंगा उडाउँदै गर्दा भेटिएका सुजिन रजकलाई पहिलाको दशैंको जस्तो रमाइलो छैन अहिले । पहिले धेरै साथी जम्मा भएर चंगा उडाउने गरे पनि अहिले चंगा उडाउने साथीहरु घट्दै गएको उनले बताउछन् ।
विगत वर्षहरुमा भन्दा चंगा किन्न आउनेहरुको संख्या पनि घट्दै गएको व्यवसायी बताउँछन् ।
चंगाको आविष्कार चीनबाट भएको मानिन्छ । नेपालमा चंगाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि समयदेखि चाडबाडका बेला चंगा उडाइँदै आएको छ । चंगा उडाउनुलाई शुभसगुनका रूपमा पनि लिइन्छ । लोककथा र किंम्वदन्तीअनुसार दसैंताका धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भनेर चंगा उडाएर सन्देश पठाउने गरिएको हो ।




