एजेन्सी, ११ असोज । दक्षिण पूर्वी एसियाका देशहरुमा तीव्र गतिमा फैलिरहेको ‘सुपर मलेरिया’ नामक औंलो रोग विश्वका लागि एउटा खतरनाक जोखिम भएको भन्दै वैज्ञानिकहरुले सर्तकता अपनाउन चेतावनी दिएका छन्।
यस्ता खालका परजीवीलाई मुख्य औंलोप्रतिरोधी औषधिले मार्न नसकिने वैज्ञानिकहरुको दाबी रहेको बीबीसीले जनाएको छ ।
यस्ता खालका परजीवीहरु पहिलो पटक कम्बोडियामा देखिएको थियो । उक्त औंलो थाइल्याण्ड, लाओसका भागहरु हुँदै अहिले दक्षिणी भियतनामसम्म पुगेको छ।
बैंककस्थित माहिडोल अक्सफोर्ड ट्रपिकल मेडिसिन रिसर्च युनिटले उक्त औंलो रोगको उपचार गर्न नसकिने एउटा वास्तविक खतरा बन्ने जोखिम रहेको बताएको छ।
अनुसन्धानकर्ताले जनाए अनुसार यो रोगले पछि महामारिको रुप लिन सक्ने छ । यसरी तिब्ररुपमा फैलिएको सुपर मलेरिया फैलिएर केहि समयमा नै दक्षिण अफ्रिकासम्म पुग्न सक्ने आकलन गरेका छन् ।
रगत चुस्ने लामखुट्टेहरुका कारण औंलो लाग्ने गर्छ र बालबालिकाको मृत्युको मुख्य कारक हो।
हरेक वर्ष झण्डै २१ करोड २० लाख करोड मानिस औंलोबाट संक्रमित हुने गर्छन्।
‘द ल्यान्चेट इन्फेक्सस डिजिसेस’ का अनुसार यो रोग समय अगावै नियन्त्रण गर्न सकिएन भने मृत्यु हुनेको संख्या बढेर २०७० सम्म एक वर्षमा लाखौँ मानिसले ज्यान गुमाउन पर्ने दाबी गरेका छन् ।