इलाम, ६ कार्तिक । इलाम नगरपालिकाले विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ ।
विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड सोमबारदेखि हटाउन शुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा पाँच लाख दश हजार रुपैंया विज्ञापन करबाट रकम संकलन हुने अपेक्षा गरेको थियो । तर विज्ञापन गर्ने विभिन्न कम्पनी वा विज्ञापन प्रदायक नगरले तोकेको दररेट अनुसार कर बुझाएनन् ।
कर नबुझाएपछि नगरले यस्ता विज्ञापनयुक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाई शाखा प्रमुख प्रेम दियालीले बताउनुभयो । नगरले आर्थिक ऐनमा व्यवस्था भए अनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचार प्रसार गर्नका लागि सप्लायर्स वा पसलको नाम समेटेर विज्ञापन गरिरहेकाले नगरमा प्रदुषण समेत बढिरहेको छ ।