एजेन्सी, ६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख शहरहरूमा संघीय सुरक्षा फौज परिचालन गर्ने चेतावनी दिनुभएको छ । गत मे महिनामा एक अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा नै मृत्यु भएपछि जारी प्रदर्शन नरोकिएपछि ट्रम्पले कानुन कार्यान्वयन गराउने संघीय सुरक्षा फौजलाई अमेरिकाका प्रमुख शहरहरूमा परिचालन गर्ने चेतावनी दिनुभएको हो ।
ओरेगन राज्यको पोर्टल्याण्डमा संघीय सुरक्षा फौजले उत्कृष्ट काम गरेको बताउँदै ट्रम्पले प्रदर्शन जारी रहेका प्रमुख शहरहरूमा पनि संघीय सुरक्षा फौज पठाउने बताउनु भएको हो । ट्रम्पले न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डमा संघीय सुरक्षा फौज पठाउने संकेत दिनु भएको छ ।
स्थानीय प्रशासनले नै संघीय सुरक्षा फौजको उपस्थितीले अवस्था झन् खराब भइरहेको टिप्पणी गरिहेको बेला राष्ट्रपति ट्रम्पको चेतावनी सार्वजनिक भएको हो ।




