जातीय र वर्ण विभेद कहिलेसम्म ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

जातीय र वर्ण विभेद कहिलेसम्म ?

jatiya bived

मनिषा महर्जन

काठमाडौं, १८ जेठ । अहिले देश विदेशमा विभेदले निम्त्याएको घटनाको चौतर्फी आलोचना तथा विरोध प्रदर्शन भईरहेका छन् । जेठ १० गते शनिबार पश्चिम रुकुममा भएको दुःखद घटनाले देश भित्र विद्यमान रहेको जातीय विभेदलाई पराकाष्ठ गरेको छ भने अमेरिकाको मेनियापोलिस शहरमा प्रहरीको नियन्त्रणमा काला जातिका नागरिकको मृत्युले अमेरिकामा रहेको वर्ण विभेदलाई उजागर गरेको छ ।

सामाजिक सञ्जाल, संसद लगायत चौतर्फी आलोचना भईरहेको घटना हो जातीय विभेदका कारण गरिएको हत्या । जाजरकोटको भेरी नगरपालिका–४ का २१ बर्षीय नवराज विक १९ जना साथीहरुका साथ पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ का मल्ल थरकी प्रेमिका लिन जाँदा गाउँलेले आक्रमण गरेको घटना । गाउँलेको आक्रमणबाट बच्न भेरीमा हाम फालेर उनीहरुको मृत्यू भएको भनिए पनि उनीहरुको हत्या भएको आरोप लागेको छ । गाँउलेले बन्दाबन्दीका समयमा हुल बाँधेर आएकोले यस्तो घटना भएको भन्दै आएपनि प्रत्यक्षदर्शीका अनुुसार लखेटी घेरा लगाई युवाहरुलाई कुटेको खबर आईरहेको छ । ती युवाहरुको जातीय विभेदका निहुँमा हत्या भएको भन्दै सामाजिक सञ्जालमा हरेक दिन आलोचना भईरहेका छन् ।

२१ औँ शताव्दीमा आईपुग्दासम्म पनि अन्तरजातीय प्रेमका कारण जीवन गुमाउनु परेको भन्दै शोक गर्नेहरुको पनि ओइरो नै लागेको छ । संसदमा पनि यो विषयले चर्काचर्की नै निम्त्यायो । पछिल्लो दिनहरुमा भने घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने भन्दै सडकमा पनि विरोध प्रदर्शन हुन थालेका छन् । कतिले यसलाई जातीय विभेदको पराकाष्ठ भन्दै जातीय मुद्दालाईसँगै उठाएका छन् भने कतिले जातीय विभेद भन्दा पनि मानवता मै प्रश्न उठाउने घटना भनेर आलोचना गरेका छन् ।

यो घटनाप्रति संयुक्त राष्ट्र संघले आपत्ति जनाई अनुसन्धान गर्न समेत भनिसकेको छ । दलितले क्षेत्री जातिसँग प्रेम गरेर विवाहका लागि प्रेमीका लिन गएकाले घटनाले यस्तो रुप लिएको भन्ने एक तर्फ छन् भने अर्को तर्फ जातीय मामिला बनाई विषयलाई विवादित बनाउन खोजेको भन्नेहरुको एक पक्ष रहेको छ । १९ जनाको हुल बाँधेर फिल्मी तरिकाले छोरी लिन आएपछि छोरीका आमाबाबुले बाहुन क्षेत्री नै भएपनि त्यहि हविगत गर्छन् भन्नेको पनि कमी छैन । कारण जातीय भएपनि नभएपनि कसैको हत्या गर्ने अधिकार कसैलाई छैन । मानवता विर्सेर कसैको बाँच्न पाउने अधिकारको नै हनन् गरिएको छ ।

रुकुमको चौरजहारी घटनाले उत्कर्ष रुप लिईरहेका बेला अमेरिकाको मेनियापोलिसमा भएको एक घटनाले सामाजिक सञ्जाल लगायत सडकमा निरन्तर विरोध प्रदर्शन भईरहेको छ । मेनियापोलिसका प्रहरीको नियन्त्रणमा हुँदा अफ्रिकी मुलका अमेरिकी जर्ज फ्लोइडको हत्याले अमेरिकाका अधिकांश स्थानमा विरोध प्रदर्शन भईरहेको हो । मेनियापोलिसका गोरा जातिका प्रहरी डेरेक चौविनले फ्लोइडलाई नियन्त्रणमा लिएर घुँडाले घाँटीमा च्यापेको भिडियो सार्वजनिक भएपछि यो घटनाले दिनप्रतिदिन उग्ररुप लिँदै गएको छ । भिडियोमा मृतक जर्ज फ्लोइडले प्रहरी अधिकारीलाई मैले श्वास लिन सकिरहेको छैन, मलाई नमार, मलाई पानी दिनुस् भन्दै गरेको देख्न सकिन्छ । एक गोरा जातिका प्रहरीले काला जातिका निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेको विरोधमा अमेरिकामा भईरहेको प्रदर्शन ह्वाइट हाउस सम्म पुगिसकेको छ ।

न्याय माग गर्दै भएको प्रदर्शनले पछिल्लो दिनहरुमा हिसाँत्मक रुप लिन थालेको छ । मेनियापोलिस र सँगैको सेन्टपल शहरमा कफ्र्यु नै लगाइयो । प्रदर्शनकारीले धेरै भवन, गाडी, सार्वजनिक सम्पतिहरुमा आगजनी तोडफोड गरेका छन् । कतिपय स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । यो घटनाले अमेरिकामा अझै पनि वर्ण विभेद विद्यमान रहेको उजागर गरेको छ । सामाजिक सञ्जालमा गोरा जातिका अमेरिकी नागरिकले काला जातिप्रति बस, रेल, पार्क जस्ता सार्वजनिक स्थानमा गरेको भद्दा व्यवहार गरेको सामाजिक सञ्जालमा समयसमयमा देखिने भिडियोले पनि आधुनिकताको उच्च शिखरमा पुगेर पनि अमेरिकामा वर्ण विभेदको अन्त्य हुन नसकेको बताउँछ ।

नेपाल तताएको रुकुम काण्ड होस् या अमेरिका तताएको मेनियापोलिसको घटना यसले अझै पनि विभिन्न नाममा हुने विभेदले विश्वमा जरा गाडेको कुरालाई प्रष्टाएको छ ।

नेपाल तताएको रुकुम काण्ड होस् या अमेरिका तताएको मेनियापोलिसको घटना यसले अझै पनि विभिन्न नाममा हुने विभेदले विश्वमा जरा गाडेको कुरालाई प्रष्टाएको छ । चाहे जातको आधारमा होस् या वर्णको आधारमा यी दुबै दुर्घटनाले मावन अधिकारलाई धज्जी उडाएको छ । नेपाल जस्तो विकासोन्मुख देशदेखि लिएर अमेरिका जस्तो विकसित देशमा पनि अझै विभेदको अन्त्य हुन सकेको छैन, कथित माथिल्लो तहले तल्लो तहप्रतिको हेपाहा प्रवृत्तिले निरन्तरता नै पाईरहेको छ । जबसम्म यस्तो अपराधहरुलाई कानुनी दायरा भित्र ल्याउन सकिँदैन तब सम्म यस्ता घटनाले विकासोन्मुख मुलुक देखि विकसित मुलुकसम्म निरन्तरता नै पाउने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);