शम्भू माली
कपिलबस्तु, १६ जेष्ठ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ८ स्थित मधुनगरमा तेइस जनाको समूह क्वारेन्टाइनमा बसेका छन ।
१४ दिन क्वारेन्टिनमा बस्नु पर्ने सरकारको नियम अनुसार स्थानीय विद्यालय खाली नभएपछि मधुनगरामा आँपको रुखमुनि आस्थायी क्वारेन्टिनमा बस्नु परेको छ ।
त्यस्तै यशोधरा गाँउपालिका वडा नं ८ का विक्रम पासी माहामारीको पीडामा जनता छट्पटिरहेका बेला निर्वचित प्रदेश र संघीय जनप्रतिनिधि कता हराए भन्दै प्रश्न गरेका गरेका छन् ।
चुनावका बेला ठुला ठुला गफ गर्ने नेताहरु अहिले मुख देखाउनै छाडिसकेको उनले बताए । गर्मीको समयमा खुला आकाश मुनि बसेकाहरुलाई हावा हुरीका साथै कोरोनाको भन्दा सर्पको टोकाईको चिन्ता रहेको क्वारेन्टाइनमा रहेका बिक्रम पासीले बताउनु भयो ।
राती ठुलो हावा हुरीमा खाट मुनि धुलोमा लुकेर बस्नु परेको पिडा पासीले पोखे । यशोधरा गाँउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले गाँउपालिकाको वडा नं. ८ मा बाँसखोर, खोरिया र सिहोखोर स्थित विद्यालयमा भारतका विभिन्न शाहरबाट आएका व्यक्तिले विद्यालयका क्वारेन्टिन भरिभारउ रहेकोले रुख मुनि आस्थायी क्वारेन्टिनमा राख्न आफूहरु बाध्य भएको बताउनु भयो । अध्यक्ष पाण्डेले त्यहाँ राखिएकाहरुलाई खानाको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।
उनका अनुसार क्वारेन्टिनमा राखिएकाहरुको पीसीआर परीक्षणका लागि सोमबार काठमाण्डौ पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट आएको छैन् । यो महामारीको बेला नत संघ न त प्रदेशका जनप्रतिनिधिले जनताको समस्या बुझ्न नआएको अध्यक्ष पाण्डेले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटीमा पालको लागि पहल गरे पनि उपलब्ध नभएको उहाँको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाको १० वटै स्थानीय तहले निर्माण गरेको २ सय क्वारेन्टिनमा १ हजार १९० बेड रहेका छन । कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ जसमा १५ जना कोरोना जितेर घर फर्किसकेका छन ।