नेपालमा थप ११४ जनामा कोरोना संक्रमण, कुन जिल्लाका कति? | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण, कुन जिल्लाका कति?

coronavirus test

काठमाडौं, १४ जेठ । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो ।

पछिल्लो पटक झापामा १७ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी मकवानपुरमा एक जना थपिएका छन्। बाग्लुङ ६ जना थपिएका छन् भने रुकुम पूर्वमा ३ जना संक्रमित थपिएका छन्।

दाङमा १५ जना कोरोना संक्रमित थपिएका हुन् भने १६ जना बाँकेमा थपिएका छन्। बुधबारै सिराहामा २ जना, बारामा ७ जना कोरोना संक्रमित थपिएका छन्। रौतहटका ३६ जना संक्रमित पछिल्लो पटक थपिएका हुन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण भएको थियो। धरानस्थित प्रयोगशालामा ११ जना, कोशी अञ्चल अस्पतालको प्रयोगशालामा १७ जना, हेटौडास्थित प्रयोगशालामा ८ जना, पोखरास्थित प्रयोगशालमा  ४ जनाको संक्रमण देखिएको थियो। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रयोशालामा १८ जना, भेरी अस्पतालको प्रयोगशालाबाट १६ जनामा कोरोना पुष्टि भएको हो भने राष्ट्रिय प्रयोगशाला टेकुमा भएको परीक्षणबाट ३८ जनामा संक्रमण देखिएको हो।

नेपालमा कुल संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन् भने  हालसम्म ४ जनाको मृत्यु भएको छ ।