मनिषा भण्डारी
काठमाडाैं, १३ जेठ
नेपालका अधिकांश नेपालीहरु कृषि पेशामा सलंग्न रहेका छन् । तर नेपालको कृषि निर्वाहमुखी मात्र बन्न पुगेको छ । आवश्यकता अनुसारमात्र खेतबारीमा काम गर्ने प्रवृतिले नेपालको कृषि व्यवसायीकरण हुन नसकेको हो ।
नेपाल लकडाउनमा गएपछि नेपालका किसानहरु प्रत्यक्ष रुपमा प्रभावित बनेका छन्। बन्दाबन्दिका कारण किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा बाटमै कुहिन थालेका छन् भने कति त गाईवस्तुले खाएका छन् । बजार उपलब्ध नहुँदा तरकारी व्यवसायीहरु घरमै आए पनि बजारको भाउ भन्दा अति नै कम मूल्यमा दिन बाध्य हुनु परेको किसानहरुको गुनासो रहेको छ । एकातिर तरकारी कुहिएर जाने डर छ भने अर्को तिर बैंकबाट लिएको लाेनकाे तनाव रहेको छ ।
तरकारीको लागि आवश्यक पर्ने मल औषधी लगायतका वस्तुहरु बजारमा उपलब्ध हुन नसक्दा अझ बढि कृषकहरु थप समस्यामा परेका छन् । बोटभरी तरकारी लटरम्मै पाक्दा पनि बजार सम्म लगेर बेच्ने वाताबरण पनि छैन त्यसैले अहिले तरकारी कृषकहरुले आफनो गाँउ टोलमै विना मूल्य बाडिरहेका छन् ।
अहिले गोलभेडाँ, भिन्डी खुर्सानी र लाम्चो खुर्सानी तथा फर्सीको सिजन हो तर बजार उपलब्ध नहुँदा खेतमै कुहिन थालेका छन्। अघिल्लो वर्ष प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले प्रतिकिलो १२ रुपैयाँमा पनि बिक्री नभएको अवस्था छ । यस्तो अवस्थामा सरकारले ल्याएको बजेटले कृषकहरुको समस्यालाई समेट्न आवश्यक देखिन्छ ।
बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिकटन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी , बोडी, टमाटर गोलभेंडा काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ । बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न सकेका छैनन् । उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको किसानकाे गुनासो छ ।
बजार नपाएपछि दैनिकी चलाउन समस्या भएको छ । ऋणधन गरेर बीउ खरीद गर्दाको लागत र जग्गाको भाडा तिर्ने रकमसम्म भए पनि उठाउन पाए केही राहत हुने कृषकहरुको भनाइ छ । लम्बिँदै गएको लकडाउनका कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्न समेत समस्या हुन थालेको उनीहरुको गुनासो छ ।
किसानले उब्जाएको तरकारी स्थानीय सरकारले बजारसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने आम कृषकको माग छ । खेतबारीमा फलेको तरकारीले बजार नपाएपछि किसानले आफै सडक किनारमा पसल थापे पनि यी पसलमा तरकारी किन्ने ग्राहक नै भेटिदैनन्।
तरकारी विक्री नहुँदा किसानलाई छटपट्टी भएको छ।नेपाल सरकारले खाद्यान्न, तरकारी तथा दूध बोक्ने गाडी चल्न दिने भने पनि त्यो लागु हुन नसकेको किसानको गुनासो रहेको छ ।
दुध उत्पादक किसानहरु पनि दुध विक्री गर्न नपाएर कतिले ढलमा मिसाएका छन् भने कतिले त गाईका बाच्छा बाच्छीलाई नै खुवाउन बाध्य बनेका छन् । उत्पादन गरेको तरकारी तथा दूध संकलन केन्द्र तथा थोक बजारमा विक्री नहुँदा आफूहरूले व्यावसायीक रूपमा लगाइएको तरकारी बजारमा विक्री गर्न नपाउँदा खेतीका लागि लिइएको ऋण तिर्नसमेत नसकिने अवस्थामा पुगेको किसानको भनाइ छ ।