काठमाडौं, ३१ वैशाख । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने गरी पेश गर्नुभएको हो ।
विधेयकमा अहिले विद्यमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक फरक संस्था बनाउने व्यवस्था गरिएको छ । सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने तयारीका साथ विधेयक ल्याएको हो ।




