विवादको ऐजेरु उखेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विवादको ऐजेरु उखेल

oli-dahal

काठमाडौं, १६ वैशाख । जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले सबैलाई राज्यको हरेक तहमा समान सहभागिताको सुनिश्चितता गरेको छ । संविधानको माध्यमबाट ऐतिहासिक उपलब्धीहरुको लिपिवद्ध मात्रै होइन, यतिबेला कार्यान्वयन पनि भइरहेको छ । संविधानले व्यवस्था गरे अनुसार तीन तहका सरकार छन् , जनताको विकास र समृद्धिको चाहना पुरा गर्नु यी तीनै तहका सरकारको अहंम दायित्व हो । समृद्धि र विकासको अभिष्ट पुरा गर्न राष्ट्रिय एकताबाट मात्रै संभव छ । राष्ट्रिय एकताका मुल नेतृत्व पनि दलहरु नै हुन् । जनताको मतबाट सबै दलहरुको आकार पनि तय भएको छ । आकारको आधारमा शासन प्रणाली अनुसार मुलुक संचालन गर्ने जिम्मेवारी नेकपाको काँधमा छ ।

नेकपाले २०७४ फागुनदेखि शासन संचालन पनि गर्दै आएको छ । शासन संचालनको अवधि अढाइ वर्षतिर लाग्दै गर्दा नेकपाभित्र देखिएको चरमोत्कर्ष विवाद सुखद होइन । नागरिकले अस्थिर राजनीतिबाट मुलुकले विकास र समृद्धि हासिल हुन नसक्ने निष्कर्षसहित नेकपालाई दुइ तिहाइको जनमत दिएका हुन् । जनताका मत अनुसार नेकपाले जनजिविकाको सवालमा आफूलाई खरो गरी उभ्याउन नसकेको पक्कै हो । यसका आन्तरिक कारणहरु धेरै पनि होलान् । नेतृत्वको महत्कांक्षा शासकीय कमजोरी र विद्यमान प्रणालीको पनि दोष छ । सामुहिकता भन्दा एकल निर्णय गर्ने गलत प्रवृत्तिबाट नेतृत्व विवादमा पनि तानिएको छ । विवाद भन्दा संवादको संस्कृतिको विकास गर्नुपर्ने बेला अध्यादेशको लप्काले सत्तारुढ नेकपामा केही कम्पन पैदा गरेको छ । पार्टीभित्रको लोकतन्त्रको अधिकतम प्रयोग गरि विधि र शासनको शिरोधार्य गर्न नेतृत्व पहिले तयार हुनुपर्ने हो, नेतृत्वमा लोकतान्त्रिक चरित्र भन्दा दम्भ र अहंकारले समस्या सतहमै छरपष्ट भएका हुन् ।

मुलुकको अभिभावक दलबाटै भएका अलोकतान्त्रिक गतिविधिले राजनीतिकवृत्तमा अस्थिरता मात्रै ल्याएको छैन । दलहरुप्रति वितृष्णाको कुहिरो बाक्लिदै गएको छ । लोकतन्त्रमा दलको विकल्प दल हो । तर, लोकतान्त्रिक शक्तिहरुबाटै नै अलोकतान्त्रिक राजनीतिक चरित्र देखाउदा पद्धती र प्रणालीको संस्थागत विकास हुन नसकेको हो । राजनीतिक अधिकारले हामी जति समृद्ध भएका छौ, त्यत्ति पद्धती र प्रणालीमा संस्थागतरुपमा समृद्ध हुन नसकेको यथार्थ हो ।यही सत्यतालाई हृदयगम गरि खास गरि सत्तारुढ नेकपा भित्र विवादको ऐजेरु रोप्नु हुदैन । सबै भन्दा ठूलो र बहुमत प्राप्त दलले विवादको ऐजरुलाई सदाको लागि उखेली सुदृढ एकता र रुपान्तरणको माध्यमबाट अघि बढ्दै मुलुकलाई सबल नेतृत्व प्रदर्शन गर्न सक्नुपर्छ । व्यक्ति विशेष प्रवृत्तिकै कारण दलभित्रको अनावश्यक शक्ति संघर्षले न त नेकपाको हित गर्नेछ, न त समग्र मुलुकको लागि हितकर हुनेछ ।

यसर्थ परिस्थितिको वस्तुगत अवस्थालाई आत्मबोध गर्दै भएका गल्ती र कमजोरीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सल्टाउनु सबै भन्दा बुद्धिमानी हुनेछ । यस्तो विपत्तिको घडीमा जिम्मेवार दल नै एकले अर्काेलाई हिलो छ्यापेर तर्क वितर्कमा उत्रिनु राजनीतिक रुपले शोभनीय मानिदैन । दलभित्रको समस्या दलभित्रैबाट सुल्झाउदै विकासको मुद्दामा मुलुकलाई एकढिका बनाउनु पहिलो दायित्व हो । विकास नै सुदृढ राष्ट्रिय एकता र रुपान्तरणको अचुक सुत्र हो, समस्या समाधानको मुख्य ओखती हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);