काठमाडौं, १४ वैशाख । ‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
क्लबले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगी मनहरुको साथ र सहयोगका कारण नेपालले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा सफलता पाउँदै गएको बताउनुभयो । उहाँले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था लगायत सबै पक्षको साझा अभियानका कारण नेपाल सफल हुँदै गएको उल्लेख गर्नुभयो ।
कोरोना विरुद्ध सबैको सहयोगका कारण विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई अतिउच्च जोखिम भएको मुलुकबाट हटाएको बताउनुभयो ।
लायन्स क्लबले मन्त्रालयलाई २ हजार सेट पीपीइ, ५ हजार थान एन९५ मास्क, सर्जिकल ग्लोभ्स ५ हजार थान र एक्जामिनेसन ग्लोभ्स २० हजार थान उपलब्ध गराएको छ ।





