पीसीआर प्रविधिबाट मात्र कोरोना परीक्षण गर्न-गराउन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

पीसीआर प्रविधिबाट मात्र कोरोना परीक्षण गर्न-गराउन आयोगको निर्देशन

Rastriya-manab-adhikar-aayog

काठमाडौं, १३ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न र गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले शनिबार विज्ञप्ति जारी गरी अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेका देखिएको भन्दै कारोना संक्रमणको यकिन गर्न पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा आयोगले लकडाउनका बाबजुद केही दिनयता उदयपुरलगायतका जिल्लाका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएकोतर्फ गम्भीर भई थप सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुगमनबाट मुलुकका धेरै ठाउँमा लकडाउन र सामाजिक दुरीको पालना नभएको देखिएको र त्यसबाट संक्रमणको जोखिम झन् बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

तराईका कतिपय जिल्लामा खचाखचयुक्त हाटबजारहरू यथावत सुचारु हुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलहरूमा पनि भीड लागी एक आपसको दुरी कायम हुन नसकेको देखिएको आयोगले जनाएको छ ।